Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

किसानको समस्या सदनमा, समयमै मल उपलब्ध गराउन प्रदेश सांसदहरुको माग



विराटनगर : प्रदेश १ का प्रदेशसभा सदस्यहरुले रासायनिक मलको अभाव र किसानका समस्याका विषयमा प्रश्न उठाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले मलको समस्या तत्काल समाधान गर्न र किसानले उत्पादन गरेको वस्तुको बजारीकरण सहज बनाउन सरकारलाई सुझाव दिएका छन् ।

प्रदेशसभामा बोल्दै संसद अम्बरबहादुर बिष्टले गाँउघरमा पर्याप्त युरिया, डिएपीलगायतका रसायनिक मल नपाउँदा किसानहरुमा निराशा छाएको उत्पादन घट्दै गएको बताए । उनले अब बर्खे धान लगाउने समय सुरु हुन लागेकाले मलको समस्या समयमै निराकरण गर्न सरकारसँग माग गरेका छन् ।

सांसद कमलप्रसाद जगेबुले समयमै विपद् व्यवस्थापन र किसानलाई आवश्यक पर्ने मलको यथोचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । किसानले समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने बताउँदै उनले भने, ‘किसानले समयमा नै मल पाउन सकेनन् भने हाम्रो उवर्रायुक्त जमिनबाट उत्पादन हुने बालीमा ह्रास आउँछ । जसले गर्दा हामीले खाद्यान्न संकट भाग्नुपर्ने अवस्था आउँछ ।’

यस्तै सांसद जगेबुले किसानमा समस्या हल गर्न नसके संसदको लोगो लगाएर बजारमा हिँड्न अप्ठ्यारो पर्ने बताए । ‘हामीले किसानलाई आवश्यक पने मल खेतीको समयसम्म उपलब्ध गराउन नसके हामी यो प्रदेशसभाको हलमा आएर, प्रदेशसभाको लागो लगाएर बजारमा हिँड्नसमेत अप्ठ्यारो पर्ने चुनाती छ’ उनले भने।

नेपाललाई सबैले कृषि प्रधान देश भन्दै भाषण गर्ने गरेको बताउँदै सांसद खगेश्वरी पौडेलले कृषकको अवस्था कस्तो छ ? भन्नेतर्फ सबैको ध्यान जान जरुरी रहेको बताइन् । किसानले उत्पादन गरेका वस्तुले राम्रो बजार मुल्य नपाउने तर उपभोक्ताले कृषि उत्पादन महंगोमा किन्नुपरेको उनले बताइन् ।

कृषकको बिक्री मुल्यभन्दा तीन चार गुणा बढी मुल्यमा उपभोक्ताले खरिद गर्नुपर्ने अवस्था आएको भन्दै उनले प्रश्न गरिन्, ‘यो अवस्था कहाँबाट सिर्जना भयो ? यसको समाधान किन आजसम्म खोजिएन ?’

यस्तै पौडेलले चिया किसानहरुले न्यूनतम मुल्य पनि नपाउँदा जीविकोपार्जनमै समस्या आउन थालेको उनले बताइन् । समग्र किसानको समस्या सरकारले नीति निर्माण गरेर मात्र हल गर्न सक्ने भन्दै उनले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार