Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ : एक वर्षमा मानव अधिकार उल्लङ्घनका घटनामा ९ सय ७० जना पीडित



विराटनगर : गत एक वर्षको अवधिमा प्रदेश १ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय ७० जना पीडित भएका छन् । सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरले पत्रकार सम्मलेन गरी ‘वर्ष पुस्तक २०२३ सार्वजनिक कार्यक्रम’ मार्फत उक्त जानकारी दिएको हो ।

राज्य पक्षबाट ५२ जना र अन्य पक्षबाट भएका मानव अधिकारहनन तथा ज्यादतीका घटनामा ९ सय १८ जना पीडित भएको इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुण्य अधिकारीले जानकरी दिए ।

इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार महिला अधिकार उल्लङ्घनका घटनामा ४ सय ५७ जना र बाल अधिकार उल्लड्घनका घटनामा २ सय ९९ जना पीडित भएका छन् ।

यस्तै अपहरणका घटनामा दुई जना, गिरफ्तारीका घटनामा २० जना, कुटपिटका ५६ जना, बाल अधिकारका घटनामा २ सय ९९ जना, हिरासतमा मृत्यु एक जना, अमानवीय व्यवहार घटनामा एक जना, घाइते ४५ जना, हत्या ७४ जना, जातीय विभेद एक जना, अभिव्यक्ति भेला तथा, सङ्गठित हुने अधिकार ९ जना, धम्की एक जना, महिला अधिकारका घटनामा ४ सय ५७ जना र कारागारमा मृत्यु चार जना गरी ९ सय ७० जना पीडित भएका छन् ।

एक वर्षको अवधिमा निर्वाचनसँग सम्बन्धित मानव अधिकार उल्लङ्घन र ज्यादतीका १७ घटनामा प्रदेश १ भित्र ४७ जना पीडित भएको इन्सेकले अभिलेख गरेको जनाएको छ । राज्यपक्षबाट भएका पाँच घटनामा ३१ जना र अन्यपक्षबाट भएका तीन घटनामा १६ जना पीडित भएका छन् ।

इन्सेक प्रदेश १ कार्यालयका प्रमुख सोमराज थापाले इन्सेकले ७७ ओटै जिल्लाका प्रतिनिधिहरूले अभिलेख गरेको तथ्याङ्कका आधारमा हरेक वर्ष मानव अधिकार वर्ष पुस्तक तयार पार्दै आएको बताए । उनले वर्ष पुस्तकलाई थप प्रभावकारी र परिस्कृत गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार