विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्यशक्तिको सबैभन्दा ठूलो स्रोत जनता मात्र भएको बताएका छन् । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुलुकको सार्वभौमसत्ता जनताकमा निहित हुनुपर्ने बताए ।
जनताको संघर्ष तथा वीर वीराङ्गना सहिदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय भएको उनले बताए । प्रजातन्त्र कै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको कार्कीको भनाई छ ।
‘प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ,’ उनले भने, ‘संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु हामी सबैको साझा दायित्व हुन आएको छ ।’
यस्तै उनले संविधान बमोजिम स्थापित प्रदेश संरचनालाई सुदृढ र जनचाहना बमोजिम अघि बढाउन सबै राजनितिक दल, सरोकारवाला सम्र्पुणको सहयोग आवश्यक रहेको बताए ।
उनले भने, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वभिमान र लोकतन्त्रका लागि भएको बिभिन्न आन्दोलनहरुमा योगदान गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरण प्रदान गरोस् भन्ने कामना गर्दछु ।’