Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेको प्रदेश कमिटीबाट ८१ जना ‘आउट’, दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासन गर्न सिफारिस



विराटनगर : नेकपा एमालेको प्रदेश १ कमिटीले ८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले उनीहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको हो ।

एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकका अनुसार प्रदेश कमिटीको जिम्मेवारीमा रहेर ५ पटकसम्म बैठकमा अनुपस्थित भएकाहरुलाई कारबाही गरिएको छ । बैठकमा उपस्थित नभएका र प्रदेश कमिटीको कुनै पनि गतिविधिमा संलग्न नभएका ८१ जनालाई जिम्मेवारीबाट हटाइएको उनले बताए ।

प्रदेश कमिटीका ८१ जनालाई कारबाही गरे पनि तत्काल उनीहरुको नाम सार्वजनिक नगर्ने पाठकले बताए ।

स्थानीय तहदेखि प्रदेश र प्रतिनिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरुलाई पार्टीबाट निष्कासन गरेको पाठकले बताए ।

बैठकले दुर्गा प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गर्न प्रदेशले माथिल्लो कमिटीलाई सिफारिस गरेको हो ।

केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन् ।

प्रदेश सचिव पाठकले भने, ‘उहाँ (दुर्गा प्रसाईं) पछिल्लो समय पार्टीको नीति र सिद्धान्त विपरीत, संविधान विरोधी र राजतन्त्रको वकालतमा प्रस्तुत हुन थालेपछि कारबाहीका लागि केन्द्रीय कमिटीलाई आजको बैठकले सिफारिस गरेको छ ।’

यस्तै आजको बैठकले एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियानको कार्यतालिका निर्माण गरेको छ । बैठकले प्रदेश कमिटीका सदस्यहरुलाई सम्बन्धित पालिकामा खटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार