विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ का नेता कार्यकर्ताहरुले नेतृत्वमाथि चर्को असन्तोष व्यक्त गरेका छन् । पार्टीले आफ्नो नीति र सिद्धान्त बिर्सिएर काम गर्न थालेको उनीहरुको आरोप छ ।
विराटनगरमा बिहीबारबाट सुरु भएको प्रदेश १ समितिको पूर्ण बैठकमा सहभागी प्रदेश सदस्यहरुले पार्टी नेतृत्वप्रति प्रश्न गर्दै हामी कुन पार्टीका सदस्य हौँ ? भनेर छुट्याउन गाह्रो भएको बताए । ‘कहिले कांग्रेसलाई भोट हाल्न लाउनु हुन्छ, कहिले एमालेलाई ? हामीले हाम्रो चुनाव चिन्हमा भोट हाल्न पाएनौं’ उनीहरुले नेतृत्वसँग आक्रोश व्यक्त गरेका छन् ।
बैठकमा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा र स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज राम कार्की सहभागी थिए । बैठकमा सहभागीहरुले नीति र सिद्धान्त गलत्याएर हिँड्दा कहाँ पुग्ने भन्ने बाटोबाट समेत विमूख भएको बताए ।
पार्टीमा नातावाद, चुल्होवाद र व्यक्तिवादी प्रवृत्ति हावी भएकोले सुधार गर्नुपर्ने अधिकांन प्रदेश सदस्यहरुको माग थियो । यस्तै उनीहरुले पार्टी कमिटिको बैठक नराख्ने अनि अध्यक्ष र सचिव तथा पदाधिकारीले सबै निर्णय गर्ने गरेको भन्दै आपत्ती जनाएका थिए ।
नेताहरुले कमिटीगत रुपमा छलफल नगरी सिधै नेताको नजिक रहेका र नेताको परिवारभित्रका सदस्यलाई मात्र अवसर दिनाले पनि पार्टीप्रतिको विश्वास गुम्दै गएको बैठकमा सहभागी एक नेताले बताए । ती नेताले भने, ‘पार्टीमा योगदानको कदर हुन छाडेको छ । जसले नेताको चाकरी गर्यो उसैले अवसर पाउने परिपाटी सिर्जना भएको छ । यस्ता कामले पार्टी कहाँसम्म जाला र ?’