विराटनगर : नेकपा एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियना सञ्चालन गर्ने भएको छ । फाल्गुन ५ गतेदेखि सुरु हुने अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल माध्यमबाट सुरुवात गर्नेछन् ।
एमालेले प्रदेश तहमा अभियानको अभीमुखिकरणको संयोजनको जिम्मा पार्टीका उपाध्यक्ष र अनुगमन संयोजनका लागि पार्टीकासहित स्थायी कमिटीसम्मका नेताहरूलाई खटाएको छ ।
विशेषगरी पालिका तहमा केन्द्रीत हुने अभियानमा केन्द्रीय सदस्यहरुलाई हाल जिम्मा लिएको जिल्लाभन्दा फरक जिल्लामा खटाइएको छ । अभियानमा पालिका पालिकामा खटिने केन्द्रीय सदस्यहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्ने एमालेले जनाएको छ ।
दुई महिनासम्म चल्ने अभियानको समापन बैशाख १० गते हुने बतइएको छ ।
प्रदेश १ मा अभिमुखीकरणको जिम्मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई दिइएको छ । अनुगमन संयोजनमा सचिव टोपबहादुर रायमाझी र सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू शेरधन राई, अग्नि खरेल, राजेन्द्र गौतम र हिक्मत कार्की रहेका छन् ।
हेर्नुहाेस् कुन नेतालाई कहाँकाे जिम्मेवारी ?

