विराटनगर : प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । न्यूनतम साझा कार्यक्रमको मस्यौदा समितिले मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कार्यक्रम हस्तान्तरण गरेको हो ।
विभिन्न १९ वटा विषयलाई मुख्य प्राथमिकता तोकेर साझा कार्यक्रम तयार पारिएको बताइएको छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य र प्रदेशको वस्तुगत लक्ष्य ‘स्वच्छ, सुखी, समुन्नत प्रदेश’ प्राप्तिका लागि काम गर्न समितिले सरकारलाई सुझाव दिएको छ ।
यस्तै प्रदेशको नामकरण, मन्त्रालयहरुको व्यवस्थापन, निर्देशनालय तथा कार्यालयहरुको भौतिक संरचना र संवैधानिक अधिकार प्रदेश मातहतमा ल्याइने मस्यौदामा उल्लेख छ ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्व अर्थमन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा गठित न्यूनतम साझा कार्यक्रम मस्यौदा समितिमा एमाले, राप्रपा र जसपाबाट सदस्यहरु थिए ।
मुख्यमन्त्री कार्कीले सरकारबाट पाएको जिम्मेवारी समयमै पूरा गरेको भन्दै समितिलाई धन्यवाद दिएका छन् ।