Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्रीबीच भेटघाट, मन्त्रालय घटाएकोमा प्रसंशा



विराटनगर :  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान उनीहरू बिच भेटवार्ता भएको हो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले प्रदेशमा मन्त्रालयको संख्या घटाएर राम्रो काम गरेको भन्दै मुख्यमन्त्री कार्कीको प्रसंशा गर्दै धन्यवाद दिएका छन् ।

पछिल्लो समय संघीयता विरोधी गतिविधि बढ्दै गएको कारण संघीयता बलियो बनाउने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको कार्कीले बताए । मुख्यमन्त्री कार्कीले भने, ‘संघीयताका विषयमा व्यापक टिप्पणी सुरु भएको छ, त्यसका लागि प्रधानमन्त्रीसँग कुरा भएको छ ।’

जवाफमा प्रधानमन्त्रीले प्रदेश सरकारलाई बलियो बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताउँदै प्रदेशलाई अधिकार दिने कुरामा आफ्नो तर्फबाट पहल भइरहेको बताएका थिए ।

प्रधानमन्त्रीले मितव्ययिता र सुशासनमा जोड दिँदै प्रदेश सरकारले जनताले अनुभूति हुने गरी काम गर्न पनि मुख्यमन्त्री कार्कीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार