विराटनगर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस दिशाहीन अवस्थामा रहेको बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले नेपाली लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टी यस प्रकारको अवस्थामा रहनु अत्यन्तै दुखद भएको बताए ।
कांग्रेस अहिलेको वर्तमान स्थितिमा न सत्ता पक्षा न प्रतिपक्षको भूमिकामा रहेको टिप्पणी गर्दै उनले भने, ‘कांग्रेस अहिले न सत्ता पक्ष न प्रतिपक्ष भएको छ, पहिला त कांग्रेस आफै सच्चिन जरुरी छ ।’
पोखरेलले कांग्रेसले राज्यका प्रमुख पदहरुमा दावी गर्नुको कुनै अर्थ नरहने बताए । सत्ता गठबन्धनको सहमति अनुसार एमालेले सिफारिस गरेकै व्यक्ति राष्ट्रपति बन्ने उनको भनाई छ ।
प्रतिपक्ष हुँ भन्दै सत्ताको अंश खोज्ने कांग्रेसको कुरा उचित नरहेको बताउँदै उनले भने, ‘कि त आफूलाई सत्तापक्षका रुपमा घोषणा गर्न सक्नुपर्छ, होइन भने सत्तापक्षले उठाएको उम्मेद्वारलाई समर्थन गर्नुपर्छ ।’
रवि लामिछानेको नागरिकता प्रकरणमा न्यायलयको भूमिका निष्पक्ष नभएको पोखरेलले बताए । ‘न्यायलय भनेको निष्पक्ष हुनुपर्छ, निष्पक्ष देखिनुपर्छ’, उनले भने, ‘न्यायलयले आफ्नो भूमिका निष्पक्ष भएको प्रमाणित गर्नुपर्छ ।’