Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

निमित्तको भरमा पालिका चलाउने परिपाटीको अन्त्य गर्छौ : मन्त्री मोदी



विराटनगर : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निमित्तको भरमा पालिका सञ्चालन गर्ने परिपाटीको अन्त्य गर्ने बताएका छन् । शुक्रबार विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय तहको निमित्त दिने चलनको अन्त्य गर्ने बताए ।

स्थानीय तहदेखिनै प्रशासनमा देखिएको समस्या सुधारका लागि आफू लागेको बताउँदै उनले विचौलिया बोकेर कर्मचारी सरुवा, बढुवाको फाइल ल्याउने चलनको अन्त्य गर्ने बताए । यदि कसैले त्यस्तो गरेको खण्डमा कारबाहीको भागेदार बनाउने मन्त्री मोदीको भनाई छ ।

मोदीले भने, ‘देशैभरी निमित्तको समस्या छ । गाउँपालिकामा जानुपर्ने अधिकृत हुन्छ । नगरपालिकामा उपसचिव हुन्छ । महानगरपालिकामा सहसचिव हुन्छ तर, राजनीतिक दलको दबाब वा पावरसेन्टरका कारण निमित्त जाने चलन छ । यसलाई अन्त्य गर्ने भनेको छु । मैले जहाँ जसको दरबन्दी र पद छ त्यहाँ त्यही जाने भन्ने सुरुवात गर्न खोजेको छु ।’

यस्तै उनले संघीय निजामती सेवा ऐन ल्याउने विषय आफ्नो प्राथमिकता रहेको बताएका छन् । संघीय संसदको यही अधिवेशनबाट पारित हुने गरी २ महिनाभित्रै उक्त ऐन संसदमा टेबल गर्ने आफ्नो प्रयास रहेको उनले बताए ।

‘निजामती सेवा ऐन यही अधिवेशनमा ल्याउने मेरो प्रयास हुन्छ । २ महिनाभित्रमै सकेसम्म टेबुल गर्न पाए हुन्थ्यो भनेर काम गरिरहेका छौं,’ मोदीले भने, ‘संघीयता कार्यान्वयन गर्ने कुरामा सबै राजनीतिक दल जिम्मेवार छन् । संघीयताको कार्यान्वयन र कर्मचारीलाई न्याय गर्ने गरी उक्त ऐन आउँछ ।’

कर्मचारीहरु सधैँ एक ठाउँमा मात्र रहन नहुने बताउँदै उनले २ वर्षदेखि एउटै शाखामा रहेकालाई शाखा परिवर्तन गर्ने बताए । ३ वर्षभन्दा माथि बसेकालाई अन्तै पठाउने, ४ वर्षभन्दा माथि एउटै ठाउँमा छन् भने उनीहरुलाई स्थानीय तहमा पठाउने र कोही सुगममा छन् भने दुर्गममा पठाउने विषयमा मन्त्रालयले तयारी थालेको उनले बताए ।

आफू मन्त्री भएपछि कर्मचारी सरुवाका विषयमा ठूला नेताहरुबाट दबाब आउन सुरु गरेको मोदीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार