Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा संसद सचिवालयका अधिकृतको मृत्यु



विराटनगर : विराटनगरमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाँदा प्रदेश नम्बर १ को प्रदेशसभा सचिवालयका एक अधिकृतको मृत्यु भएको छ । कोसी लोकमार्गअन्तर्गत विराटनगर –३ स्थित ढाटमा बुधबार बिहान दुर्घटना हुँदा संसद सचिवालयका अधिकृत ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–८ घर भएका श्रेष्ठ घरबाट कार्यालयतर्फ आउँदै गर्दा बाटोमा दुर्घटनामा परेका हुन् । उनी प्रदेश १–०४–००१ ब ०००७ नम्बरको सरकारी मोटरसाइकलमा सवार थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको उक्त मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा दिउँसो करिब ३ बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्कुटरमा सवार दुई जना सामान्य घाइते भएका छन् । चालक बूढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईंको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीले मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार