Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कारागार सरुवा रोक्न कैदी अभिषेक गिरीले हालेको रिट ‘हेर्न नमिल्ने’ सूचिमा



विराटनगर : कारागार व्यवस्थापन विभागले गैरकानुनीरुपमा सरुवा गरेको भन्दै मोरङ कारागारका चौकिदारसमेत रहेका गुण्डानाइके अभिषेक गिरीले दिएको रिट ‘हेर्न नमिल्ने’ सूचिमा राखिएको छ ।

गत माघ ३ गते कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय र मोरङ कागारालाई विपक्षी बनाएर गिरीले रिट निवेदन दर्ता गराएका थिए । उच्च अदालत विराटनगरका न्यायाधीश किरणकुमारी गुप्ताको एकल इजलाशले माघ ९ गते दुबै पक्षलाई छलफलको लागि उपस्थित हुन आदेश दिएको थियो ।

तर, उच्च अदालत विराटनगरका न्यायाधीश राजन प्रसाद भट्टराई र किरणकुमारी गुप्ताको इजलासमा तोकिए पनि ‘हेर्न नमिल्ने’ भएपछि स्थगित भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए । मुद्धाको अर्को पेशी माघ १२ गते लागि पुनः दुवै पक्षलाई बोलउन आदेश दिइएको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका गिरीलाई गृह मन्त्रालयले विराटनगरबाट मकवानपुरको भीमफेदी कारागारमा स्थानान्तरण गर्न निर्देशन दिएको थियो । उक्त निर्णयको विरुद्धमा उनले सरुवा रोक्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट दर्ता गराएका थिए ।

कारागारभित्रै अपराधिक गतिविधि बढाएपछि उनलाई भीमफेदी स्थानान्तरण गर्न लागिएको थियो । उनको कैद भुक्तानको समय आगामी फागुन ३ गते सकिदै छ ।

भीमफेदी लैजाँदा आफू असुरक्षित हुने भन्दै गिरीले उच्च अदालत विराटनगरमा सरुवा बदरको माग राख्दै ‘उत्प्रेषण परमादेश’ को माग गरेका छन् ।

गिरीलाई २०७० सालमा युवती प्रयोग गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर फिरौती रकम मागेको घटनामा अदालतले दोषी ठहर गरेको थियो ।

कारागारभीत्रै आपराधिक गतिविधि सञ्चालन गरेर आतंक खडा गरेकै कारण गिरीलाई २०७४ साल चैत २३ गते मोरङबाट सरुवा गरेर काठमाडौंको डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो ।

तर, तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा २०७८ साल मंसिर ९ गते मोरङ कारागार ल्याइयो । उनलाई मोरङ ल्याउने भएपछि आफूहरू असुरक्षित हुने भन्दै कैदीबन्दी र आफन्तले उनीविरुद्ध आन्दोलन गरे पनि त्यसको सुनुवाइ भएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार