Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कैदी अभिषेक गिरीले कारागार सरुवा रोक्न दिएको रिटमा आज छलफल हुने



विराटनगर : कारागार व्यवस्थापन विभागले गैरकानुनीरुपमा सरुवा गरेको भन्दै मोरङ कारागारका चौकिदार अभिषेक गिरीले दिएको रिटमा आज छलफल हुने भएको छ । गृह मन्त्रालयले गिरीलाई विराटनगरबाट मकवानपुरको भीमफेदी कारागारमा स्तानान्तरण गर्न निर्देशन दिएपछि उनले सरुवा रोक्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट दर्ता गराएका थिए ।

गिरीले गत माघ ३ गते कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय र मोरङ कागारालाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् । उनी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका छन् ।

कारागार व्यवस्थापन विभागको नियममा समान्यता एक वर्ष भन्दा कम अवधिमा छुटने कैदीबन्दीहरूको सकेसम्म सरुवा नगर्ने प्रावधान उल्लेख भएपनि आफ्नो सरुवा गरिएको भन्दै उनले सरुवा रद्ध गर्न रिटमा माग गरेका छन् ।

गिरीको कैद भुक्तानको समय आगामी फागुन ३ गते सकिदै छ । भीमफेदी लैजाँदा आफू असुरक्षित हुने भन्दै गिरीले उच्च अदालत विराटनगरमा सरुवा बदरको माग राख्दै ‘उत्प्रेषण परमादेश’ को माग गरेका छन् ।

उच्च अदालत विराटनगरका न्यायाधीश किरणकुमारी गुप्ताको एकल इजलाशले माघ ९ गते दुबै पक्षलाई छलफलको लागि उपस्थित हुन आदेश दिएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।

गिरीलाई २०७० सालमा युवती प्रयोग गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर फिरौती रकम मागेको घटनामा अदालतले दोषी ठहर गरेको थियो ।

कारागारभीत्रै आपराधिक गतिविधि सञ्चालन गरेर आतंक खडा गरेकै कारण गिरीलाई २०७४ साल चैत २३ गते मोरङबाट सरुवा गरेर काठमाडौंको डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो । तर, तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा २०७८ साल मंसिर ९ गते मोरङ कारागार ल्याइयो । उनलाई मोरङ ल्याउने भएपछि आफूहरू असुरक्षित हुने भन्दै कैदीबन्दी र आफन्तले उनीविरुद्ध आन्दोलन गरे पनि त्यसको सुनुवाइ भएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार