Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ : उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक



विराटनगर : सत्ता गठबन्धनको भागबन्डा अनुसार प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्की र सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम चयन भइसकेका छन् । केन्द्रको निर्णयअनुसार प्रदेशको उपसभामुख नेकपा एमालेले पाएको छ ।

सभामुखमा निर्विरोध निर्वाचित भएका गौतमले उपसभामुखको निर्वाचन ३० पुसमा गर्न समय तोकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ । प्रदेशसभामा उपसभामुख चयनका लागि भोलि (शुक्रबार) उम्मेदवारको मनोनयन हुने प्रदेशसभा सचिवालयले सूचान निकालेको छ ।

उपसभामुखको उम्मेदवारी दर्ताका लागि शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म समय दिइएको छ । साँझ ५ बजेदेखि पौने ६ बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोध, साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारी फिर्ता लिन र साँझ ७ बजे उपसभामुख उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ । उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजे बस्ने प्रदेशसभामा हुनेछ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन ४७ संसद आवश्यक पर्छ । हाल कायम रहेको गठबन्धनमा ६० संसद छन् । एमाले ४०, माओवादी केन्द्र १३, राप्रपा ६ र जसपाका १ संसद छन् । यसअघि नेकपा नेकपा माओवादी केन्द्रकी सरस्वती पोखरेल प्रदेशसभाको पहिलो उपसभामुख थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार