विराटनगर : नेकपा एमालेका हिक्मतकुमार कार्कीलाई प्रदेश १ को मुख्यमन्त्रीमा समर्थन गरेर सरकारमा सहभागी नभएको माओवादी केन्द्र अन्ततः सरकारमा जाने भएको छ । यसअघि प्रदेश सरकारको नेतृत्व आलोपालो हुनुपर्ने माग राख्दै माओवादी सरकारमा सहभागी भएको थिएन् ।
पार्टी केन्द्रको निर्र्देशनपछि बिहीबार बसेको माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित सहभागी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि (शुक्रबार) विश्वासको मत लिँदै छन् । शुक्रबार नै माओवादीलाई समेटेर मन्त्रीमण्डल विस्तार गर्ने उनको तयारी रहेको स्रोतको दावी छ ।
माओवादीले साविकको लिम्बुवान, कोचिला र किराँत राज्यबाट प्रतिनिधित्व हुने गरी सरकारमा पठाउने तयारी गरेको छ । प्रदेशमा माओवादीले तीन मन्त्रालय दावी गरेपनि एमालेले दुईवटा मात्र दिने बताएको छ ।
सरकारमा कस कसलाई मन्त्री बनाउने भन्ने विषयमा यसअघि माओवादीभित्र उग्र विवाद थियो । पार्टीमा लामो समयदेखि योगदान गरेका भन्दा नयाँ आएकाहरुबाट मन्त्री दावी गरेको भन्दै विवाद उत्पन्न भएको थियो । खासगरी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कान्छा ज्वाइँ जीवन आचार्यले मन्त्री बन्न इच्छा गरेपछि विवाद बढेको थियो ।
माओवादीले केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईको नेतृत्वमा आफ्नो पार्टीलाई सरकार पठाउने माओवादी स्रोतले बताएको छ । यस्तै पार्टी अध्यक्षको दवावका कारण अर्का केन्द्रीय सदस्य जीवन आचार्यलाई सरकारमा पठाइने भएको छ ।
साविकको कोचिलाबाट मोरङका गणेश उप्रेतीलाई मुख्य दाबेदारका रुपमा हेरिए पनि नेतृत्वको दवावबाट प्रदेशमा आचार्य मन्त्री बन्न लाग्दा लामो समयदेखि पार्टी राजनीतिमा लागेका उप्रेती मन्त्री बन्नबाट बञ्चित हुने भएका छन् ।
आचार्य मोरङ ६ (१) र उप्रेती मोरङ २(१) बाट निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा भने दुवै जना सोही क्षेत्रबाट पराजित भएका थिए । एउटै जिल्लाबाट आचार्य मन्त्री बन्ने भएपछि माओवादी प्रदेश कमिटी सचिव उप्रेती मन्त्री बन्नबाट रोकिएका छन् ।
माओवादीबाट दुई जना सहभागी हुने भएपछि एमालेले थप एक जनालाई मन्त्री बनाउने बताइएको छ । स्रोतका अनुसार एमालेबाट बुद्धिकुमार राज भण्डारी मन्त्री बन्नेछन् ।
यसअघि माओवादी सरकार सहभागी नभए पनि मुख्यमन्त्री कार्कीले राप्रपा र जसपालाई समेटेर सानो आकारको मन्त्रीमण्डल विस्तार गरेका थिए । कार्कीले एमालेका तिलकुमार नेम्वाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्ति प्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूलाई मन्त्री बनाएका थिए । उनीहरु विना विभागीय मन्त्री बनेका हुन् ।