Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित



विराटनगर : प्रदेश १ सभाको सभामुखमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा गौतमको एकल उम्मेद्वारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक र नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा, नेकपा एकीकृत समाजवादी पार्टीका कमल जवेगु उनको समर्थक रहेका थिए ।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिएपछि उनी निर्विरोध निर्वाचित बनेका हुन् । गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र २ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

सभामुखका लागि प्रदेशमा पुस २८ गते बिहान ११ बजे निर्वाचनको मिति तोकिएको थियो । तर उनको एकल उम्मेदवारी परेकाले प्रदेशसभाका जेष्ठ सदस्यको अध्यक्षतामा बसेको प्रदेशसभाको तेस्रो बैठकले उनी निर्वाचित भएको घोषणा गरेको हो ।

केन्द्रीय भागबन्डा अनुसार प्रदेश १ मा मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रलाई दिने सहमति छ । केन्द्रको सोही निर्णयअनुसार नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुत्त भइसकेका छन् भने सभामुखमा माओवादीका गौतम चयन भएका छन् ।

योसँगै गौतम प्रदेश १ को दोस्रो सभामुख बनेका छन् । यसअघि नेकपा एमालेका प्रदीपकुमार भण्डारी प्रदेशसभाको पहिलो सभामुख थिए ।

प्रदेश भागवण्डामा सत्ता साझेदार दलबीच भएको सहमतीअनुसार सभामुख माओवादी केन्द्रको भागमा परेसँगै एमालेले उपसभामुख पाउने पक्का छ । प्रदेशमा उपसभामुख निर्वाचनका लागि २९ गते बस्ने प्रदेशसभाको बैठकले कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ । उपसभामुखका लागि ३० गते निर्वाचनको मिति तय भएको छ ।

संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ ।

संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला र फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ व्यवस्था छ । सभामुखका लागि पुरुषको उम्मेदवारी परेसँगै उपसभामुखमा महिला उम्मेदवार बनाउनुपर्ने अवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार