विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् । उनले पुस २९ गते विश्वासको मत लिने व्यवस्थाका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराएका छन् ।
नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम नियुक्त माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको धारा १६८(४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्कीले प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
प्रदेशसभाका ६० जना सदस्यको समर्थनमा कार्की पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाका ६ र जसपाका १ संसदको समर्थन छ ।