Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रादेशिक संरचना स्थापित गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की



विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक संरचना स्थापित गर्नु सबै संसदहरुको दायित्व भएको बताएका छन् । प्रदेशको औचित्य पुष्टि गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने कार्कीले बताए ।

मंगलबार प्रदेशसभाको दोस्रो बैठकमा बोल्दै उनले प्रादेशिक संरचना सेवा प्रवाह र देश विकासका लागि महत्वपूर्ण भएको बताए । फजुल खर्च र बेरुजुका आधारमा संघ र स्थानीय सरकारभन्दा प्रदेश सरकार सब्बल संरचना भएको उनको भनाई छ ।

प्रदेशको अधिकार प्राप्तिका लागि प्रदेशसभाका सबै दल एकमतका साथ उभिनुपर्ने उनले बताए । ‘कतिपय कुराहरुमा हामीले अधिकार नपाउँदा काम गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत सबै दल एकमतका साथ उभिएर प्रदेशको अधिकार क्षेत्रका लागि लड्नुपर्ने भएको छ ।’

प्रदेश संरचनालाई स्थापित गरी मजबुत र स्थायी बनाउनका लागि सबै राजनीतिक दलहरु एक ठाँउ उभिन उनले आग्रह गरेका छन् ।

यस्तै प्रदेश सरकारले केहीदिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने पनि मुख्यमन्त्री कार्कीले बताए । सेवा प्रवाहलाई सुशासन कायम गर्दै भ्रष्टाचार शून्यसहनशीलता बनाउने प्रदेश सरकारको उच्च प्राथमितका भएको बताए । प्रदेशले पर्यटन, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्ने कार्कीको भनाई छ । आर्थिक सामाजिक रुपान्तरणका लागि प्रदेश सरकार जिम्मेवार भएको उनले बताए ।

अघिल्लो कार्यकालमा नामकरण गर्न नसक्दा चातर्फी आलोचना भएको बताउँदै उनले सबैको साझा सहमतिमा नामकरण गर्नु सरकारको उच्च प्राथमिकता भएको बताए ।

संरचना अभावमा मन्त्रालयहरु विभिन्न ठाउँ छरिएर रहँदा सेवा प्रवाह गर्न असहज भएका कारण प्रदेशको संरचना गर्ने विषय सरकारको मुख्य प्राथमिकता भएको उनले बताए । ‘संरचना अभाव हुँदा मन्त्रालयहरु विभिन्न ठाउँमा छरिएर रहेका छन्, भाडाका घरहरुमा छन्,’ उनले भने ‘त्यसकारण हाम्रो पहिलो र उच्च प्राथमिकता प्रदेश सरकारका आफ्नै भवनहरु बनाउनु हो ।’

स्थानीय र संघीय सरकारसँग निरन्तर सहकार्य र समन्वय गरेर प्रदेशलाई बलियो बनाउन लागि पर्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार