विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संघीयता मुलुकको आवश्यकता भएको बताएका छन् । मंगलबार प्रदेशसभाको दोस्रो बैठकमा बोल्दै आङ्बोले संघीयता कसैको असन्तुष्टि साम्य गर्नका निम्ति र द्धन्द व्यवस्थापनका लागि नआएको बताए ।
अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा आफूहरु चौतर्फी आलोचनाको सिकार बनेको बताउँदै उनले यो सरकारले समयमै नामकरण गरेर प्रदेशको औचित्य पुष्टि गर्नुपने बताए । अघिल्लो कार्यकालमा विकास समृद्धि र सवा प्रवाह गर्न कयौँ काम भए पनि नामकरण नहुँदा ती कामहरु आझेलमा परेको उनले बताए ।
प्रदेशसभाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वका समयमै नामकरण टुंगो लगाउने आङ्बोले बताएका छन् । उनले भने, ‘प्रदेशवासीको चाहनाअनुसार समयमै प्रदेशले नाम प्राप्त गर्छ र हामी सबैलाई लागेको असक्षमको आरोप मुख्यमन्त्री ज्यूको नेतृत्वमा पखाल्न सक्छौँ ।’
संघीयता द्धन्द व्यवस्थापनका लागि मात्र ल्याइएको व्यवस्था नभएको उनको भनाई छ । संघीयता देशको भौगोलिक, जातीय र सांस्कृतिक बनोटका आधारमा राज्यको पुर्नसंरचना र शक्तिको बाँडफाँडका लागि ल्याइएको आङ्बोले बताए ।