Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हिक्मत कार्की : अनेरास्ववियुको अध्यक्षदेखि मुख्यमन्त्रीसम्म



आइतबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नियुत्त गरेका छन् । प्रदेशसभाको पहिलो कार्यकालमा तीन मुख्यमन्त्री पाएको प्रदेश १ मा कार्कीले चौथो मुख्यमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका हुन् ।

आइतबार दिउँसो प्रदेशसभाका बहुमत संसदको समर्थनसहित उनले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) का संसदको समर्थन रहेको छ ।

झापाको गौरदहमा वि.स. २०२१ साल असोज ११ गते जन्मिएका कार्कीले एसएलसीसम्मको अध्ययन गौरदहबाटै गरे । विद्यालयमा पढ्दादेखिनै अनेरास्ववियुमा संगठितहुँदै विद्यार्थी राजनीतिमा होमिएका उनले २०३६ सालदेखि नै पार्टीको सम्पर्कमा रुहेर विभिन्न आन्दोलनलाई साथ दिएका थिए ।

नेपाल ल क्याम्पसबाट कानुनमा स्नातकोत्तर (एलएलएम) सम्मको अध्ययन पूरा गरेका उनले अनेरास्ववियुमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै गए । नेपाल ल क्याम्पसमा पढ्का उनले स्वववियु सभापतिमा चुनाव जिते । अनेरास्ववियुको विभिन्न कमिटीमा रहेर काम गरेका कार्की २०५५ मा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बने ।

अनेरास्ववियुको अध्यक्ष बनेपछि पार्टी राजनीतिमा सक्रिय भएर उनले काम गरे । कार्की विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्यको जिम्मेवारीमा रहेका थिए । उनले २०७१ सालमा सम्पन्न एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा प्रवेश गर्ने मौका पाएका थिए ।

पार्टी स्वयंसेवकको केन्द्रीय कमान्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी प्रदीप नेपाल, विष्णु रिमाल, विनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डेसँगै पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गरेका नेता हुन् ।

त्यसपछि हिक्मत कार्कीले २०७१ देखि २०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्ज भएर काम गरे । देशमा संघीयता कार्यान्वयन भएसँगै प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा उनले प्रदेश संगठन कमिटी, प्रदेश १ को प्रचार विभाग प्रमुखको भूमिका निर्वाह गरिसकेका छन् ।

२०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा तत्कालीन बाम गठबन्धनबाट उम्मेदवार बनेका कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश १ बाट निर्वाचित भए । निर्वाचित भएसँगै उनले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका थिए ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका कार्की हाल स्थायी कमिटी सदस्य तथा प्रदेश १ को सहइन्चार्ज छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार