कैलाश चापागाई/विराटनगर : मोरङको मिक्लाजुङको एक सहकारीको ३४ लाख रुपैयाँ चोरी भएको छ । शुक्रबार राति मिक्लाजुङ गाउँपालिका–३ टाँडीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो ।
शुक्रबार राति चोरी भए पनि प्रहरीले भने शनिबार दिउँसोमात्र जानकारी पाएको बताएको छ । जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीले संस्थाकी व्यवस्थापक मेनुका शिवालाई नियन्त्रणमा लिएको छ । शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सहकारीको मूल ढोका फुटाएर पैसा निकालेको पाइएको छ । सहकारीभित्र पैसा राख्ने बक्सा ‘सेभ’ कार्यालयबाट करिब ५० मिटर पश्चिममा प्रहरीले फेला पारेको छ ।
घाटनाबारे प्रहरीले सहकारीकी अध्यक्ष मीना कार्की, प्रबन्धक प्रकाश खनाल र अन्य पदाधिकारी, कर्मचारीमाथि सोधपुछ गरिरहेको छ । सहकारीको ३४ लाख चोरी भएकोबारे सुरुमा प्रबन्धक खनालले प्रहरीलाई जानकारी गराएका थिए ।
श्रेष्ठका अनुसार अहिले अनुसन्धान गर्ने काम भइरहेको छ ।