काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने बताएका छन् ।
शनिबार पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले संसदका दोस्रो, तेस्रोलगायत अन्य दलहरूले मिलेर सरकार बनाएकाले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन् ।
उनले आफ्नो व्यक्तिगत धारणा भए पनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताए । उनले अन्य दलहरू मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेका बेलामा कांग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गरे ।
महामन्त्री थापाले कांग्रेस प्रतिपक्षमा बसेर नै आफ्नो जिम्मेवारी पूरा गर्ने बताए । महामन्त्री थापाले कांग्रेस केन्द्रीय समितिको बैठक पुस २८ मा बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल गर्ने बताए । उनले गठबन्धन गरेकोदेखि गठबन्धनलाई टिकाउन नसकेका विषयमा केन्द्रीय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुने बताए ।
महामन्त्री थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर कांग्रेसको प्रतिष्ठामाथि आँच पु¥याउन खोजिएको बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने कुरा निराधार भएको बताए ।