Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रचण्डका ज्वाइँले अवसर खोज्दा ‘शुशिल’लाई मन्त्री बन्न सकस



विराटनगर : राजनीतिक रुपमा कुनै नाटकीय घटना नभए प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्दै छ । एकअर्काका प्रतिस्पर्धि भएर चुनावमा गएका एमाले र माओवादी अहिले सत्ता साझेदार दल बनेका छन् । प्रदेश १ का प्रदेश प्रमुखले पुस २४ गते बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न दलहरुलाई आह्वान गरेसँगै मन्त्री बन्नका लागि प्रदेश संसदहरुको दौडधुप बढ्दै गएको छ ।

नयाँ बनेको गठबन्धनको दोस्रो ठुलो दल नेकपा माओवादी केन्द्रभीत्र भने यतिबेला मन्त्री बन्ने विषयलाई लिएर आन्तरिक विवाद बढ्दै गएको छ । लामो समयदेखि पार्टी राजनीतिमा योगदान दिएका भन्दा पनि नयाँ आएकाहरुबाट मन्त्री दावी हुन थालेपछि माओवादीमा विवाद बढ्दै गएको हो ।

प्रदेशमा मन्त्री बन्नका लागि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ जीवन आचार्य अघि सरेपछि विवाद चर्कदै गएको छ । आचार्य दोस्रो प्रयासमा मोरङ क्षेत्र नम्बर ६ को प्रदेश १ बाट निर्वाचित प्रदशसभा सदस्य हुन् । नाताले आचार्य प्रचण्डका कान्छा ज्वाइँ हुन् । प्रदेशमा आचार्यले मन्त्री पदका लागि दावी गरेसँगै लामो समयदेखि पार्टी राजनीतिमा लागेकाहरु मन्त्री बन्नबाट बञ्चित हुने देखिएको छ ।

प्रदेशको मुख्यमन्त्री दावी गरेपनि पाउने स्म्भावना कम रहेको माओवादीले साविकको लिम्बुवान, किराँत र कोचिला राज्यबाट सन्तुलन मिलाएर सरकारमा पठाउने तयारी गरिरहेको छ । माओवादी स्रोतका अनुसार लिम्बुवानबाट दुर्गाप्रसाद चापागाईँ, किराँतबाट राजेन्द्र कार्की, उदयपुरका नारायणबहादुर मगर र कोचिलाबाट मोरङका गणेश उप्रेतीलाई मुख्य दाबेदारका रुपमा हेरिएको छ ।

तर, आचार्यको दावीले उप्रेती मन्त्रीको लिस्टमा नअटाउने भएपछि माओवादीमा विवाद चर्किएको नेताहरुले बताएका छन् । मन्त्री बन्नका लागि आचार्यले केन्द्रमा लबिङ गरेको र नभई नछाड्ने अडान लिएको माओवादीका एक नेताले बताए । ती नेताले भने, ‘प्रदेशका लागि हाम्रो पार्टीबाट लगभग नाम तयार भइसकेको थियो तर, केन्द्रीय दवावका कारण नाम हेरफेर हुने अवस्था आएको छ ।’

तुलनात्मकरुपमा पनि पार्टी राजनीतिमा आचार्यभन्दा उप्रेती लामो सायदेखि क्रियासिल छन् । उप्रेती २०५३ सालदेखि माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीहुँदै राजनीतिमा होमिएका हुन् । २०५५ सालमा बीएड पढ्दा इलाम क्याम्पसको स्ववियू सचिव बनेका उप्रेती २०६० सालमा पार्टीको इलाम सचिव भए । ०६१ सालमा मोरङ जिल्ला इन्चार्ज भए । त्यसबेला शिवकुमार मण्डल सहइन्चार्ज थिए । मण्डल यसअघि तीनपटक प्रतिनिधिसभा सदस्य र मन्त्रीसमेत भइसकेका छन् । प्रदेश कमिटी सचिव रहेका उप्रेती यसपटक तेस्रो प्रयासमा निर्वाचित भएका हुन् ।

२०७० को संविधानसभा सदस्यको निर्वाचनमा पराजित भएका उप्रेती २०७४ बाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार थिए । तर, पराजित भएका थिए । यसपटक भने उनी मोरङ क्षेत्र नम्बर २ को प्रदेश (१) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

यता, आचार्य भने प्रचण्डकी कान्छी छोरी गंगा दाहालसँग विवाह गरेपछि मात्र पार्टीसँग नजिक भएका हुन् । उनले पार्टीको कुनै जिम्मेवार कमिटीमा नभएपनि २०७४ सालमा टिकट पाएका थिए । ०७५ मा एकैपटक पार्टीको प्रदेश कमिटी सदस्य बनेका आचार्य हाल माओवादीको केन्द्रीय सदस्य छन् ।

मन्त्री बन्ने लगभग पक्कापक्की भएका उप्रेतीले आचार्यको दावीसँगै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । उनले लेखेका छन्, ‘राजनिती गर्नेहरुले राजनैतिक निर्णय र राजनैतिक पहलकदमी लिएकै राम्रो ! त्यसभित्र अराजनैतिक र मूल्य मान्यता नाघेर निर्णयहरु लिँदा आन्दोलन वा अभियान कसैलाई फाइदा पुग्दैन ।’ पार्टीमा आफू पटकपटक अन्यायमा परेको भन्दै यसपटक आफूलाई नेतृत्वले न्याय दिनुपर्ने उनको भनाई छ ।

नेकपा माओवादी प्रदेश १ का संसदीय दलको नेता इन्द्रबहादुर आङ्बोले भने मिडियाहरुमा आएजस्तो विवाद आफ्नो पार्टीमा नभएको बताएका छन् । कुनै व्यक्तिको विषयमा छलफल नभएको भन्दै अफवाहको पछि नकुद्न उनले अग्रह गरेका छन् ।

मन्त्रीका विषयमा मोरङका दुई नेताबीचको विवादलाई घुमाउरो तरिकाबाट सम्बोधन गर्दै आङ्बोले फेसबुकमा लेखेका छन्, ‘सत्ता साझेदार दलहरूबिच प्रदेश सरकारहरुको साझेदारी र बाँडफाँडमा कुनै निर्णय र सहमति भइसकेको छैन् ।’

केन्द्रीय स्तरमा सहमति हुने विषयकै टुंगो नलागी प्रदेशमा औपचारिक र निर्णायक छलफल नभएको उनले बताए । ‘प्रदेश पार्टी कमिटी र संसदीय दलभित्र कोहि व्यक्ति र पात्रले प्राप्त गर्ने जिम्मेवारीको बारेमा कुनै छलफल भएको छैन् । माथिल्लो कमिटीबाट पनि कुनै त्यस्तो निर्देशन आएको छैन्,’ उनले लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार