विराटनगर : नेकपा एमालेले सात वटै प्रदेशमा सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको छ । केन्द्रमा नयाँ गठबन्धन निर्माण भएसँगै प्रतिपक्षबाट सत्तापक्षमा पुगेको एमालेले मंगलबार मधेश प्रदेशमा दलको नेता चयना गरेसँगै सातै प्रदेशमा चयन गरेको हो ।
प्रदेश १ मा झापाका हिक्मतकुमार कार्की, मधेशमा महोत्तरीका सरोज यादव, बागमतीमा चितवनका जगन्नाथ थपलिया, गण्डकीमा कास्कीका खगराज अधिकारी, लुम्बिनीमा रुपन्देहीका लीला गिरी, कर्णालीमा सुर्खेतका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा कैलालीका राजेन्द्र रावल एमाले संसदीय दलको नेता चयन भएका छन् ।
सत्ता गठबन्धनको आधारमा एमालेले चार प्रदेशको मुख्यमन्त्री पाउने छ । एमालेले प्रदेश–१, गण्डकी, लुम्बिनी र कर्णालीमा आफ्नो नेतृत्वमा सरकार गठनको योजना बनाएको छ । बाँकी तीन वटामा माओवादी र सत्ता गठबन्धनका अन्य दललाई छाड्ने सम्भावना छ ।