विराटनगर : प्रदेश नम्बर १ को प्रदेशसभामा हालसम्म चार राजनीतिक दलले संसदीय दलको नेता चयन गरेका छन् । प्रदेशको सबैभन्दा ठुलो दल नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको नेता चयन गरेका छन् ।
हालसम्म चयन भएकामध्ये नेकपा एमाले, कांग्रेस र राप्रपाको दलका नेता झापाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । एमालेबाट हिक्मतकुमार कार्की, कांग्रेसबाट उद्धव थापा र राप्रपाबाट भक्तिप्रसाद सिटौला दलको नेता चयन भएका छन् । कार्की झापा ५(१), सिटौला झापा ४(२) र थापा समानुपातिक संसद हुन् ।
माओवादी केन्द्रको दलको नेतामा भने पाँचथरबाट निर्वाचित इन्द्रबहादुर आङ्बो चयन भएका छन् । प्रदेशमा अब नेकपा एकीकृत समाजवादीले दलको नेता चयन गर्न बाँकी छ ।
संसदीय दलको नेताका लागि नेपाली कांग्रेसमा मात्रै मतदान भएको छ । कांग्रेसले शुक्रबार निर्वाचनमार्फत दलको नेता चयन गरेको हो । अन्य दलमा भने सर्वसम्मत भएको थियो ।
यस्तै ९३ सदस्यीय प्रदेशसभामा सबैभन्दा बढी झापाका संसद छन् । प्रदेश १ को प्रदेशसभामा झापाबाट २० संसद निर्वाचित भएका हुन् । झापाबाट निर्वाचित भएका २० संसदमध्ये ९ जना एमालेका छन् ।
एमालेबाट प्रत्यक्षमा हिक्मत कार्कीसहित एकराज कार्की, तिलकचन पाठक, छविलाल चुडाल, राधाकृष्ण खनाल र होमबहादुर थापा तथा समानुपातिकबाट नम्बरलाल धिमाल, कमला थापा मगर र तारादेवी ढकाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेस र राप्रपाबाट ५–५ जना छन् । कांग्रेसबाट उद्धव थापा, गोपाल तामाङ, भूमिप्रसाद राजवंशी, लखिकुमारी गणेश र मोहन महर्जन रहेका छन् । राप्रपाबाट प्रत्यक्षमा सविना बजगाइँ र भक्तिप्रसाद सिटौला छन् भने समानुपातिकतर्फ निमसरी राजवंशी, अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा संसद छन् ।
यस्तै माओवादी केन्द्रकी समानुपातिक संसद बन्दना झाँगर पनि झापाकी हुन् ।