Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश-१ को कांग्रेस संसदीय दलमा तीन नेता भिड्दै, कसको पक्षमा कति संसद ?



विराटनगर : प्रदेश १ मा नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि तीन नेता चुनावी मैदानमा छन् । दलको नेताका लागि प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्की चुनावी प्रतिस्पर्धामा छन् । बिहीबार मनोनयन दर्ता गराएका उनीहरुबीच शुक्रबार (भोलि) मतदान हुँदै छ ।

प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित दुई र समानुपातिकका एक संसदले संसदीय दलको नेता बन्न उम्मेदवारी दिएका छन् । कांग्रेसको संस्थापन पक्षधर दुई (एक देउवा र एक सिटौला पक्ष) र कोइराला पक्षका एक संसद चुनावी मैदानमा उत्रिएका हुन् ।

प्रदेश–१ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षमा १७ र समानुपातिक १२ गरी २९ संसद छन् । कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ । अर्थात दलको नेता बन्न २९ मध्ये १५ मत आवश्यक पर्छ ।

दलको नेता बन्ने लाइनमा रहेका तीन जनामध्ये अर्याल र थापा पहिलो पटक प्रदेशसभा सदस्यमा विजयी भएका हुन् भने कार्कीको यो दोस्रो कार्यकाल हो । अघिल्लो कार्यकालमा दलको प्रमुख सचेकहुँदै कार्की हाल प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री छन् ।

यसअघि दलको नेतामा दावी गर्दै आएका भीम पराजुलीले भने अन्तिम समयमा उद्धव थापालाई समर्थन गरेका हुन् । कांग्रेसका केन्द्रीय सदस्य पराजुली सिटौला समूहका नेता हुन् ।

देउवा, सिटौला र कोइराला पक्षबाट एक/एक जनाको उम्मेदवारी परेसँगै संसदीय दलको चुनाव रोकच हुने देखिएको छ । प्रदेशसभाका २९ संसदमध्ये आफ्नो पक्षमा १२ संसद रहेको देउवा पक्षको दावी छ । कांग्रेस स्रोतका अनुसार सिटौला पक्षमा ९ र कोइरालाका पक्ष ८ जना संसद रहेको छन् ।

पार्टी सभापति शेरबहादुर देउवा समूहमा अमृत अर्यालसहित प्रदीपकुमार सुनुवार, हिमाल कार्की, सुनिताकुमारी गुरुङ, सदानन्द मण्डल, इस्राइल मन्सुरी, खगेनसिंह हाङ्गाम, डोल्मा तामाङ, लीलाकुमारी राई, मैया श्रेष्ठ, सुनिता गच्छदार, र ममता मगर तामाङ रहेका छन् ।

यस्तै शेखर समूहमा केदार कार्की, रामकुमार खत्री, शमशेर राई, इन्दिरा थापा, विनोद राई, मानबहादुर लिम्बू, गोविन्द गिरी र गयानन्द मण्डल तथा सिटौला समूहमा उद्धव थापा, भीम पराजुली, भूमिप्रसाद राजवंशी, भूपेन्द्र राई, खगेश्वरी पौडेल, मोहन महर्जन, शोभा चेम्जोङ पालुङ्वा, लेखीकुमारी गणेश र गोपाल तामाङ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार