विराटनगर : नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेताका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि दलको नेतामा दावी गर्दै आएका कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली उद्धव थापाको प्रस्तावक बसेका छन् ।
अर्याल संविधानसभा सदस्य तथा मोरङ ५(२) बाट प्रदेशसभामा निर्वाचित संसद हुन् । प्रदेश सभापति थापा समानुपातिक संसद र कार्की मोरङ ६(२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी हाल प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन।
निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीका अनुसार अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरूङ रहेका छन् । यस्तै थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई तथा कार्कीको प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शम्शेर राई रहेका छन् ।
अर्याल संस्थापन समूह (देउवा समूह), थापा (सिटौला समूह), र कार्की संस्थापन इतर (कोइराला समूह) पक्षका नेता हुन्।
प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसले १७ जना प्रत्यक्ष र १२ जना समानुपातिकमा गरी कुल २९ संसद जितेको छ । निर्वाचित संसदमध्ये देउवा र कोइराला समूहका १०/१० जना र सिटौला समूहमा ९ जना रहेको संसदहरुले बताएका छन् ।
दलको नेता चयन गर्न भोलि (शुक्रबार) बिहान ९ बजेदेखि मतदान गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।