विरानटगर : पूवी पहाडी जिल्ला धनकुटामा दोस्रो पटक एमालेलाई ‘क्लिन स्विप’ गराएका राजेन्द्रकुमार राई प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेका छन् । एमालेबाट पहिलो पटक मन्त्री भए पनि उनको मन्त्रालय टुंगो लागेको छैन् ।
२०४३ सालदेखि सक्रिय राजनीतिमा लागेका राई २०७० को दोस्रो संविधानसभा निर्वाचनदेखि चुनावमा सहभागी हुँदै आएका छन् । त्यसबेला भने उनी पराजित भएका थिए । ०७४ र ०७९ को निर्वाचनमा भने उनले धनकुटाबाट चुनाव जिते । दुवै निर्वाचनमा राईले कांग्रेस उम्मेदवार सुनिलकुमार थापालाई पराजित गरेका हुन् । यसपटक सत्ता गठबन्धनबाट कांग्रेसको उम्मेदवार बनेका थापा ०७४ मा भने कांग्रेसको समर्थनमा राप्रपाका उम्मेदवार थिए ।
राजेन्द्र राई २०४९ सालमा तत्कालीन जिल्ला विकास समितिको सदस्यबाट जनप्रतिनिधिमा निर्वाचित भएका थिए । २०५४ मा जिविसको उपसभापतिमा निर्वाचित भए ।
५७ वर्षीय राईको जन्म २०२२ साल भदौ २९ गते धनकुटाको तत्कालीन मुगा गाउँ पञ्चायतमा भएको हो । विद्यालयकालदेखि नै उनी अनेरास्ववियुमा संगठित भएका थिए ।
अनेरास्ववियुको पाँचौ राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधिका रुपमा सहभागी भएका थिए । त्यतिबेला उनी आठ कक्षामा पढ्थे । सानै उमेरदेखि राजनीतिमा होमिएका राई २०४७ सालमा अनेरास्ववियुको धनकुटा जिल्ला अध्यक्ष बने ।
२०७४ को निर्वाचनपश्चता एमाले र माओवादी मिलेर बनेको नेकपाको उनी धनकुटा जिल्ला अध्यक्ष थिए । नेकपा विभाजनपछि उनले धनकुटामा एमालेको जिल्ला अध्यक्ष भएर काम गरे । एमालेको दशैँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सलस्यमा निर्वाचित भएका राईले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन् ।