विराटनगर : प्रदेश १ मा २९ संसद जित्दै दोस्रो ठुलो बनेको नेपाली कँंग्रेसले संसदीय दलको नेता निर्वाचनबाटै चयन गर्ने भएको छ । आकांक्षी बढी हुँदा सहमति जुट्न नसकेपछि कांग्रेसले निर्वाचनमार्फत दलको नेता छान्ने भएको हो ।
प्रदेशसभामा १७ संसद प्रत्यक्ष र १२ समानुपातिकमा जितेको कांग्रेसले दलको नेता चयन गर्न पुस १५ गते चुनाव गर्ने जनाएको छ ।
कांग्रेसले प्रदेशको दलको नेता छान्न राष्ट्रियसभा सदस्य तथा कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ ।
संसदीय दलको नेता बन्ने दौडमा कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली, प्रदेश सभापति उद्धव थापा र प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दाबी गर्दै आएका छन् ।
प्रदेश निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ । पुस १४ गते १२ः३० देखि १ः३० सम्म उम्मेदवारी दर्ता र सोही दिन अपरान्ह ४ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिने सूचनामा उल्लेख छ ।
संसदीय दलको नेता बन्नका लागि मनोनयन दर्ता गराउन २५ हजार रूपैयाँ शुल्क बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।