Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ मा माओवादीले दावी गर्ने, दलको नेतामा आङ्बोलाई चापागाईको चुनौती



विराटनगर : नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको नेतृत्वमा माओवादीको दावी रहने बताएका छन् ।

दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सोमबार शपथग्रहणपछि पत्रकारहरुसँग बोल्दै उनले राष्ट्रिय राजनीतिमा नयाँ समिकरण बनेका कारण माओवादीले प्रदेश सरकारको नेतृत्वका लागि सशक्त दाबी गरिरहेको बताए ।

५ वर्ष प्रदेश सरकारमा रहेर आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवार पूरा गरेका आङ्बोले अबको सरकारमा मन्त्री नबन्ने बताएका छन् । उनले भने, ‘म यसअघि दुई पटक मन्त्री बनिसकेको हुँदा अब मन्त्री नबन्ने निर्णय लिएको छु, पार्टीको तर्फबाट अन्य साथीहरू मन्त्री बन्नुहुनेछ, पार्टीले सरकारको नेतृत्व गर्न पाउँदा सरकारमा जान सक्छु ।’

वर्तमान राजनीतिक समिकरण अनुसार ७ वटै प्रदेशको भागबण्डा लाग्दा प्रदेश १ जसको भागमा परेपनि स्वीकार गर्ने उनले बताए ।

तर, माओवादी केन्द्रको संसदीय दलको नेतामा मन्त्री आङ्बोलाई दुर्गा चापागाईको चुनौती छ । माओवादीले भोली प्रदेश १ को संसदीय दलको नेता छान्न बैठक बस्ने जनाएको छ । प्रदेशसभामा माओवादीका १३ संसद छन् ।

पार्टीभित्र आएका अवसरको सबैले आलोपालो गरेर विनियोजित गर्नुपर्ने चापागाईको भनाई छ । विगतमा पार्टीमा आएका अवसरको सहि बाँडफाँड नहुँदा धेरै नेताहरुले टिकट नपाएको र पाएका कतिपय नेताले पनि चुनाव हार्नुपरेको उनले बताए ।

सहमतिका लागि आङ्बोसँग आफ्नो कुरा भइरहेको र एकपटक नेताहरुसँग बसेर परामर्श गर्ने चापागाईले बताए । ‘उहाँसँग मेरो कुरा भइरेको छ । सम्भवत हामी सहमतिबाटै टुंग्याउनेतर्फ लाग्छौँ,’ उनले भने, ‘सहमति नभए चुनाव छदैँ छ नि !’

प्रतिक्रिया
सम्बन्धित समाचार