काठमाडौं : नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन्।
सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताए।
‘निर्मलाको पन्तको घटनाको अपडेट पनि गर्नुहोला’, लामिछानेले निर्देशन दिँदै भने, ‘अपडेट मलाई गर्नुहोला। उक्त घटनामा न्यायका लागि अधिकतम पहल गर्ने निर्णय लेख्नुहोला।’
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साल साउन ११ गते बलात्कारपछि हत्या भएको थियो।
गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन्।
पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे। अपराध अनुसन्धान महाशाखले उनको पासपोर्टबारे सुक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरुले उनलाई गृहमन्त्री बनाएका छन्।
‘म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। सबैलाई बराबर न्याय हुन्छ। निष्पक्ष छानबिन गर्न मेरो सहयोग रहन्छ। कुनै पनि किसिमको कम्परमाइज हुँदैन,’ पदभार ग्रहण गर्दै उनले भने।