विराटनगर : नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मत कार्कीले नेकपा एमालेले प्रदेशको नेतृत्व गर्दै नामकरणलाई पहिलो प्राथमिकता दिने बताएका छन् । राष्ट्रिय राजनीतिमा नयाँ गठबन्धन निर्माण भएसँगै प्रदेशमा त्यसकै आधारमा सहमति बने नेकपा एमालेले त्यसको नेतृत्व गरेर सरकार निर्माण गर्ने कार्कीले बताए ।
सोमबार प्रदेशसभा सदस्यको शपथग्रहण लिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले प्रदेशको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि आफ्नो नेतृत्वदायी भूमिका रहने बताएका छन् ।
एमालेले सरकारको नेतृत्व गरेर प्रदेशलाई सुशासन, शान्ति सुरक्षा र विकास निर्माणमा अब्बल भूमिका निर्वाह गर्ने बताए । अघिल्लो कार्याकालमा प्रदेशको नामकरण नहुँदा आफूहरुको आलोचनाको पात्र बनेको बताउँदै उनले नामकरण पहिलो प्राथमिकता भएको बताए । उनले भने, ‘सबै दलहरुसँग छलफल गरेर साझा सहमतिमा प्रदेशको झल्कने नाम राख्छौँ, त्यसको नेतृत्व एमालेले गर्छ ।’
केन्द्रीय सत्ताको बाँडफाँडमा अन्यथा नभए प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने निश्चित भएको उनको भनाई छ । ‘गएको निर्वाचनमा एमाले, राप्रपा र जसपाले तालमेल गरे चुनावमा भाग लिएर प्रदेशमा बहुमत सिट जितेको छ, त्यो सहकार्य राष्ट्रिय राजनीतिमा यथावत रहेकाले प्रदेशमा पनि कायम रहन्छ,’ कार्की भन्छन्, ‘अर्कोतर्फ नेकपा माओवादी अहिले सत्ता समिकरणमा प्रधानमन्त्रीको भूमिकामा छ, त्यसले गर्दा प्रदेशमा हामो सिट संख्या ६० पुग्छ, केन्द्रीय सत्ताको बाँडफाँडमा अन्यथा नभए प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने निश्चित छ ।’