विराटनगर : करिब तीनसातादेखि अस्पतालमा उपचार गराइरहेका ब्राजिलका महान खेलाडी पेलेको क्यान्सर बढ्दै गएको अस्पतालले जनाएको छ । तीन पटकको विश्वकप विजेता ८२ वर्षीय पेलेको इजरायलिटा अल्बर्ट आइन्स्टाइनमा उपचार भइरहेको छ ।
अस्पतालका अनुसार उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन् बढ्दै गएको छ । सन् २०२१ को सेप्टेम्बरमा पेलेको पेटबाट ट्युमर हटाइएको थियो । त्यसयता उनी निरन्तर उपचारमा छन् ।
बाबुको उपचार गराइरहेकी पेलेकी छोरीले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै बुवाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै घरमा आयोजना गरिने क्रिसमस कार्यक्रम रद्द गरिएको बताएकी छिन्। उनले डाक्टरहरुको सल्लाह अनुसार बाबुको हेरचाहका लागि अस्पतालमै बस्नु राम्रो भएको उल्लेख गरेकी छिन् ।
‘हाम्रो घरको क्रिसमस रद्द गरिएको छ, हामीले डाक्टरहरूसँगको सल्लाहमा बुवाको हेरचाहका लागि यहाँ बस्नु राम्रो हुनेछ,’ उनले लेखेकी छिन् ।
पेले ब्राजिलका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले ब्राजिललाई १९५८, १९६२ र १९७० मा विश्वकप जिताएका थिए ।
कतारमा भर्खरै सम्पन्न फिफा विश्वकप २०२२ को अन्तिम १६ को दक्षिण कोरियाविरुद्धको खेलमा ब्राजिलका खेलाडीहरुले खेल जितेपछि पेलेको नाम र तस्विरसहितको ब्यानर बोकर स्वास्थ्य लाभको कामना पनि गरेका थिए ।