विराटनगर : नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले महानगरले गरेको काम र निर्णयप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै थापाले महानगरले अध्ययन र अनुसन्धान विना नै हचुवाको भरमा निर्णय गर्ने गरेको बताएका छन् ।
महानगरपालिकाले गर्ने हरेक काम र गतिविधिमा सरोकारवाला र विज्ञहरुसँग व्यापक छलफलमा हुनुपर्ने थापाको भनाई छ । खुल्ला र पारदर्शी समाजमा जथाभावी गर्ने कामले समर्थन नपाउने उनको तर्क छ ।
महानगरमा कर्मचारीलाई विभिन्न परिबन्धमा पार्ने, बिनाकारण हटाउने तथा मापदण्डवीपरित सरुवा गर्ने काम भएको उनले बताए । ‘अहिले महानगरमा कर्मचारीलाई परिबन्धमा पार्ने, बिनाकारण हटाउने र मापदण्ड बिना सरुवा गर्ने काम भएको गुनासो छ । यस्ता काम गर्नु अघि विज्ञ टोलिसहितले जनताले थाहा पाउने गरि ओएण्डएम गरी कस्ता कर्मचारी कति चाहिने भन्ने कुरा नगर परिषदले निर्णय गर्नु पर्दछ । हचुवाका भरमा सरुवा, बढुवा र कर्मचारी हटाउने काम राम्रो होइन्’, थापाले भनेका छन् ।
नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि नियुक्त भएका कर्मचारी कुन कानुनमा टेकेर गरिएको हो भन्ने कुरा जनताले थाहा पाउनुपर्ने उनले बताए ।
यस्तै कार्यपालिकाले विराटनगरका १९ मध्ये वडा नम्बर १४, १६ र १८ का केही क्षेत्रबाहेक अन्य वडालाई गैरकृषि क्षेत्र तोकेर सिफारिस गरेको निर्णयप्रति पनि थापाले आपत्ति जनाएका छन् । जग्गाको कित्ताकाट रोकिदाँ आवास क्षेत्रमा पनि नयाँ घरहरू थपिने क्रम सुस्त भएको र आन्तरिक आम्दानी नबढेको निष्कर्षसहित महानगरले भू–उपयोग नीति पारित गरी कार्यान्वयनमा लैजाने पहल गरेको थियो ।
थापाले फेसबुकमा लेखेका छन्, ‘कित्ताकाट, कृषि र गैर कृषि क्षेत्र भनेर छुट्याइएको निर्णयका बारेमा धेरै प्रश्न उठेका छ्न । यस विषयमा महानगरबासीलाई जानकारी पाउनु पर्छ ।’
यस्तै उनले विराटनगरको विकास सुस्त गतिमा भएको आरोप लगाएका छन् । फोहोर मैला व्यवस्थापन जस्ता कामले गति नलिनु दुखद भएको उनको भनाई छ । समयमै निर्माण कार्य सम्पन्न गरेका उपभोक्त्ता समितिले भुत्तानी पाउन सास्ती झेलीरहेको र नपाइरहेको गुनोसो व्यापक हँुदासमेत महानगरले चासो नदेखाउनु गम्भीर विषय भएको अध्यक्ष थापाले बताए ।