Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरी-३ मा एमालेको ‘क्लिन स्विप’, तेस्रो प्रयासमा गच्छदारलाई हराउँदै भगवती विजयी



विराटनगर : सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई ५१८८ को मतान्तरले पराजित गर्दै उनी विजयी भएकी हुन् ।

भगवतीले तेस्रो प्रयासमा गच्छदारलाई पराजित गरेकी हुन् । भगवती चौधरीले ४० हजार ७८८ मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेपाली गच्छदारले ३५ हजार ६०० मत पाएका छन् ।

चौधरी २०७० को निर्वाचनमा उनै गच्छदारसँग पराजित भएकी थिइन् त्यसबेला उनी गच्छदारसँग ३६२ मतले चौधरी पराजित भएकी थिइन् । ०७४ मा फेरी उनी ३२१ मतान्तरले पराजित भइन् ।

यता गच्छदार भने २०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट निर्वाचन लड्दै आएका व्यक्ति हुन् । लगातार चुनाव जिन्दै आएका गच्छदार यसपटक भने पुरानै प्रतिस्पर्धीसँग पराजित भएका छन् ।

सुनसरी क्षेत्र नम्बर ३ को प्रदेशसभा (१)मा नेकपा एमालेका रोहितबहादुर कार्की १८ हजार ६४१ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी सरस्वती पोखरेलले ९४९८ मत मात्र ल्याइन् ।

यस्तै प्रदेश (२) मा एमालेका रामदेव यादव विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विन्देश्वर यादवलाई ५८८ को मतान्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । रामदेव १९ हजार ४७९ मत ल्याइ विजयी हुँदा पराजित भएका विन्देश्वरले १८ हजार ८९१ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार