Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वमन्त्रीलाई हराउँदै प्रदेशसभामा पूर्वमेयर विजयी



विराटनगर : मोरङ क्षेत्र नम्बर ४ को प्रदेशसभा (२) मा प्रदेश १ सरकारका पूर्वमन्त्री जीवन घिमिरेलाई हराउँदै विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली विजयी भएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले पूर्व सामाजिक विकासमन्त्री घिमिरेलाई १७८८ मतको अन्तरले पराजित गरेका हुन् ।

पराजुली ११ हजार ४७९ मत ल्याइ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका घिमिरेले ९६९१ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका माधव प्रसाद आचार्यले ६ हजार ९३५ मत प्राप्त गरेका छन् ।

पराजुली २०७४ को स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचत भएका थिए । उनले नेकपा एमालेका विनोद ढकालालई पराजित गरेका थिए । त्यस बेला पराजुलीले २३ हजार ३१ मत ल्याउँदा ढकालले १७,३२१ मत पाएका थिए ।

यता, घिमिरे पनि २०७४ को निर्वाचनमा मोरङ ४(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका विश्वनाथ रिजाललाई पराजित गरेका थिए । घिमिरेले १३ हजार ८०५ मत ल्याउँदा रिजालले ११ हजार ६२५ मत ल्याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार