विराटनगर : चुनाव आउन अब पाँच दिन बाकी छ । उम्मेदवारहरुका लागि प्रचारप्रसारको समयावधि एकदमै कम छ । उम्मेदवारहरु जोडबलका साथ चुनावी अभियानमा लागि रहेका छन् । मोरङ क्षेत्र नम्वर २ को प्रदेश ‘क’ मा नेकपा एमालेका उम्मेदवार डिबी कार्की र सत्ता गठबन्धनबाट नेकपा मओवादी केन्द्रका गणेश उप्रेती प्रतिष्पर्धामा छन् । उप्रेतीको तुलनामा कार्कीको सक्रियता निकै अघि रहेको छ ।
एमालेबाट पहिलोपटक उम्मेदवार बनेका कार्की पार्टीको प्रदेश कमिटी सदस्य हुन् । नयाँ उम्मेदवार मैदानमा आएपछि युवा मतदाताको ठुलो हिस्साको रोजाइमा कार्की परेका छन् । दुई दशकदेखिको निरन्तरको स्थानिय सामाजिक सेवाले कार्कीको उम्मेदवारीलाई थप दर्बिलो बनाएको छ । कार्की यतिबेला चुनावी अभियानमा व्यस्त छन् ।
यता सत्ता गठबन्धनबात उम्मेदवार बनेका उप्रेती यही क्षेत्रबाट लगातार दुई पटक चुनाव हारेका व्यक्ति हुन् । २०७० मा दोस्रो संविधानसभाको चुनावमा पराजित भएका उप्रेती २०७४ मा भने बाम गठबन्धनबाट प्रदेशसभाको उम्मेदवार थिए । उनी ०७४ मा कांग्रेसका शिवनारायण गनगाईसँग पराजित भएका थिए ।
लगातारको हारले जनतामाझ त्यसै पनि अलोकप्रिय बनेका उप्रेती गठबन्धनको साझेदार नेपाली कांग्रेसको मत पाउनेमा अहिलेसम्म विश्वस्त हुन सकेका छैनन् । स्थानीय चुनावमा सिर्जित काङ्ग्रेससंगको कटुता अझसम्म मिलाउन नसक्दा उनले कांग्रेसको मत आधा पनि नपाउने स्थिति छ । यो क्षेत्रमा कांग्रेसबाट दुई जना बागी उम्मेदवार छन् । तर, कांग्रेसको मत फकाउन उनी जोडबलले लागि परेका छन् ।
कार्कीले शैक्षिक सुधारलाई विशेष जोड दिएर चुनावमा भोट मागिरहेका छन् । गुणस्तरीय शिक्षा प्राप्तिको खाकालाई उनले प्रमुखताका साथ उठाएका छन् । युवा रोजगारी उनको अर्को प्राथमिकताको क्षेत्र हो । त्यसैगरी स्वास्थ्यसेवा, कृषिविकास लगायतका विषयहरुको योजना उनले टोलटोलमा गएर प्रस्तुत गरेका छन् । उनी आफूप्रति मतदाताको विश्वास दिप्रतिदिन बढ्दै गइरहेको बताउँछन् ।
उप्रेती मजदुर, किसान, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयलाई प्राथामिकताका साथ अगाडी बढाएका छन् । लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको र जनताको मतको रक्षा गर्न गठबन्धनको विजय हुनुपर्ने उनको तर्क छ ।
यस्तो छ अंकगणीत
तीन स्वतन्त्रसहित १२ उम्मेदवार रहेका यो क्षेत्रमा मुख्य गरी एमाले र सत्ता गठबन्धनबिच प्रतिस्पर्धा हुने देखिन्छ । यो क्षेत्रमा ६१ हजार ५८ कूल मतदाता रहेका छन् । रतुवामाई नगरपालिकासहित सुनवर्षी नगरपालिकाको ६, ७, ८ र ९ वडा पर्छ ।
गत बैशाखमा सम्पन्न स्थानीय तहको मत परिणामअनुसार एमालेको मत १५ हजार २७९ छ । कांग्रेसको १३ हजार ७२७, माओवादीको ४ हजार ३१, राप्रपाको १ हजार ४३३ र जसपाको २ हजार ४७२ मत रहेको छ ।
१४ वडा रहेको प्रदेश ‘क’ मा एमालेले ८ वटा वडा, कांग्रेसले ५ र माओवादीले १ वडामा वडाअध्यक्ष जितेको छ ।