विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले सामाजिक सुरक्षा कोषबारे रोजगारदातालाई अभिमुखीकरण तालिम दिएको छ।
बिहीबार विराटनगरमा आयोजित अभिमुखीकरण कार्यक्रममा कोषका उपनिर्देशक रोहित रेग्मीले सामाजिक सुरक्षा कोषको अवधारणाबारे जानकारी गराए।
कार्यक्रममा उपनिर्देशक रेग्मीले हालसम्म मुलुकमा लागू भएका सामाजिक सुरक्षा कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षालगायतका विषयमा जानकारी गराए।
कार्यक्रममा महासंघका सहायक निर्देशक हरि पौडेलले सामाजिक सुरक्षा कोष कार्यान्वयनको विकल्प नभएको उल्लेख गरे।
त्यसैगरी, महासंघको सामाजिक सुरक्षा परामर्शदाता युग्मी राजश्री थापाले कोषको उपयोगिताको अवस्था, कार्यान्वयनमा देखिएका जटिलता र सहजीकरणका प्रयासबारे जानकारी गराएका थिए।
कार्यक्रममा मोरङ तथा सुनसरीमा रहेका मुख्य रोजगारदाता निकायहरू, औद्योगिक प्रतिष्ठानहरूबीच एकरूपता कायम गर्न अभिमुखीकरण कार्यक्रम गरिएको महासंघका केन्द्रीय सदस्य डा. अभिनाश बोहोराले बताए।
कार्यक्रममा हालसम्म मुलुकमा १७ हजार ५ सय रोजगारदाता कोषमा आवद्ध भएको जानकारी दिइएको थियो।
त्यसैगरी, करिब ३ लाख ७५ हजार श्रमिक, कर्मचारी कोषमा आवद्ध भइसकेको बताइएको छ।
२०५१ सालबाट सामाजिक सुरक्षा भत्ता विवरणसँगै सुरु भएको सामाजिक सुरक्षा कार्यक्रममा हालसम्म ३२ दशमलव ९ प्रतिशत जनसंख्या जोडिएको कार्यक्रममा जानकारी दिइएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा कोष २०७६ सालबाट औपचारिक रुपमा सुरु भएको हो।