Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सार्वजनिक सुनुवाईमा विराटनगरका मेयरले भने : ‘गर्व गर्न र सम्झन लायक काम गर्छौँ’



विराटनगर : विराटनगर महानगरपालिकाको समन्वयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईमा सहभागीहरुले शिक्षा, स्वास्थ्य, सरसफाई, सडक निर्माण, सुशासन, आर्थिक पारशर्शिता, ज्येष्ठ नागरिक, बालबालिका, कला, साहित्य र संस्कृतिको संरक्षण, बजार अनुगमनलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले डुबान समस्या, सरसफाईलगायतका विषयमा जिज्ञासा राखेका थिए । उनले तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्न महानगरलाई सुझावसमेत दिए ।

ज्येष्ठ नागरिक समाज प्रदेश–१ का अध्यक्ष मणिकुमार अज्र्यालले सेवा प्रवाहमा ज्येष्ठ नागरिकमैत्री बनाउन आग्रह गरे । साहित्यकार स्वयम्भुमानसिंह कार्कीले भाषा, साहित्य र संस्कृतिको विकासका लागि महानगरले के कस्ता योजना बनाइरहेको छ भन्ने प्रश्न राखेका थिए ।

एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तले सडक निर्माण, महिला, बालबालिका र सामाजिक क्षेत्रका बारेमा जिज्ञासा रोखेका थिए । राप्रपाका जिल्ला सचिव टंक चौलागाईं, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश दाहाल, नेकपा एमाले विराटनगर नगर कमिटीका उपसचिव नवराज नेपाललगायतले सुशासन, आर्थिक पारदर्शिता, विकासमा देखिएको ढिलासुस्तीलगायतका विषयमा प्र्र्रश्न गरेका थिए ।

सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको जवाफ दिदैँ मेयर नागेश कोइरालाले महानगरवासीले गर्व गर्न र सम्झन लायक काम गर्ने प्रतिबद्धता गरे । कोइरालाले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र सुशासनलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए ।

नगर बस सञ्चालनदेखि डुबान समस्या समाधानसम्मका योजना महानगरले तयार गरेको उनको भनाइ छ ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहित विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा तथा महाशाखा प्रमुख, नागरिक समाजका अगुवाका साथै सर्वसाधारणको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार