Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वडा अध्यक्ष पोखरेलको सक्रियता : ज्येष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य जाँच



विराटनगर : विराटनगर महानगरपालिका वडा नम्बर-८ ले ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच सुरु गरेको छ । वडाले बिहीबारदेखि घरघरमै पुगेर वडाभित्रका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरेको हो ।

स्वास्थ्य स्वयम्सेविकाहरुमार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए। ज्येष्ठ नागरिकको सुगर, प्रेसरलगायत जाँच गरिएको छ ।

स्वास्थ्य जाँचबाट समस्या देखिएका ज्येष्ठ नागरिकलाई औषधिसमेत निःशुल्क वितरण गरिएको वडाध्यक्ष पोखरेलले बताए । ‘ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थासम्म पुग्न गाह्रो हुने भएकाले वडाले घरमै पुगेर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरेको हो’, पोखरेलले भने, ‘यो अभियानमा वडामा सधैं सञ्चालन गर्ने योजना छ ।’ वडाले टोल–टोलमा स्वास्थ्य स्वयम्सेविका खटाएर ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँचलाई तीव्रता दिएको वडाध्यक्षको भनाइ छ ।

घरमै आएर स्वास्थ्य जाँच गरेपछि ज्येष्ठ नागरिक पनि दंग परेका थिए । स्थानीय ८३ वर्षीय भीमबहादुर धितालले वडाले यसअघि कहिल्यै पनि घरमै आएर स्वास्थ्य जाँच नगरेको बताए । यसरी घरमै आएर स्वास्थ्य जाँचेर औषधि दिएकोमा अत्यन्तै खुसी लागेको उनले बताए।

त्यस्तै ९१ वर्षीया सुरेन्द्रकुमारी कोइराला पनि वडाको कार्यप्रति निकै खुसी हुँदै भनिन्, ‘अहिले धेरै ज्येष्ठ नागरिकहरु परिवारबाटै अपहेलित भएर बस्नुपरेको छ, वडा कार्यालयले घरमै आएर स्वास्थ्य जाँच गर्दा साह्रै खुसी लागेको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार