Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यथार्थ लुकाएर नौटंकी देखाउँदै



यतिबेला चुनावी माहोला तीव्र छ । कार्तिक १७ देखि निर्वाचन आयोगले प्रचारप्रसारलाई व्यापकता दिन खुल्ला गरेको छ । लोकतन्त्रको आधारभूत विषय आवधिक निर्वाचन हो । यसैको भरमा लोकतन्त्र र प्रजातन्त्र अडिएको हुन्छ । सँगसँगै अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेस लोकतन्त्रको अर्को विशेषता हो । स्वतन्त्र न्यायपालिका, जनताप्रति उत्तरदायी संसद र सरकार पनि यसको आधार स्तम्भ हो ।

यी सबै विषयलाई मनन गरेर आम जनताले निर्धक्कपूर्वक मत हाल्न पाउने वातावरण हुनु पनि अर्को महत्वपूर्ण पाटो हो । यी धरातलहरुलाई केलाएर हेर्ने हो भने हामीले सही ढंगले काम गर्न नसकिरहेको अवस्था छ । पछिल्लो समयमा पत्रकारिता जगत राजनीतिक रुपमा विभाजित हुँदा जनताले यथार्थ कुरा नपाउने र मतदान गर्ने बेलामा राम्रो उम्मेदवारले मत नपाउने अवस्था सिर्जना हुँदै छ । हुन त हामी पत्रकारिता क्षेत्रमा लाग्नेहरुले नै मःम गर्नुपर्ने अवस्था छ । हामीले लेख्ने, बोल्ने र सार्वजनिक रुपमा व्यक्त गरेका धारणाहरुले आम नागरिकहरु सही सूचनाबाट बञ्चित भइरहेका छन् ।

कुन पार्टीका उम्मेदवारहरुको अवस्था के छ ? उनीहरु को राम्रो, को नराम्रो ? सकारात्मक पाटाहरु र सुधार गर्नुपर्ने कुराहरुलाई यथार्थरुपले चित्रण नगरीकन उनीहरुले चुनावी मैदानमा गरेका अनेक खाले नाटक नौटंकी र झुटा आश्वसनलाई प्रचार गरिदिने अवस्थामा हामी पुगेका छौँ । कहिले धान बोक्दै गरेको, कहिले जागिर दिन्छु भन्दै गरेको, कहिले खुट्टा ढोगेको, कहिले तरकारी जोख्दै गरेको र अहिले सामाजिक सञ्जालमा हुँदै नभएका र प्रभावहिन भएका कार्यक्रम र कामहरु भिडियो बनाएर पोस्ट्याउने, रामबहादुरले गरेको काम स्यामबहादुरले मैले गरेको भन्दै प्रचार गर्ने शैलीमाथि प्रहार नगर्ने हो भने असल मानिसहरु पाखा लाग्ने अवस्था सिर्जना हुँदैछ । यसतर्फ गम्भीर हुनुपर्ने अवस्था छ ।

यथार्थमा यो चुनावमा सबै कुरा लुकाएर नौटंकीमात्रै हामीले उठाइदिँदा लोकतन्त्र बलियो हुन्छ त ? म सोच्दछु । मैले नै यस विषयमा कहाँबाट सुरुवात गर्ने ? र यो घेराबन्दीलाई कसरी तोड्ने होला । आज गम्भीर सवाल उव्जिरहेको छ । पछिल्लो समयमा आएका मनगणन्ते खालका समाचार र सामाग्रीले पत्रकारितामाथि नै चुनौती पनि खडा गरिदिएको छ । ती सामाग्रीहरुलाई हामीले अब सही ढंगले चिरफार गर्नु जरुरी छ । संघ र प्रदेशमा एकपटक संसद भएकाहरुले देशव्यापी रुपमा जुन ढंगले सामाजिक सञ्जालबाट प्रचार गरिरहेका छन्, के फिल्डमा त्यो यथार्थ छ त ? यी सबै कुराहरुलाई काहीँ न काहीँबाट तोड्नुपर्ने अवस्था छ ।

दलहरुले गरेका प्रतिवद्धता र घोषणापत्रका यथार्थ चिरफार गर्ने हो भने आम मतदाताहरुले यथार्थ थाहा पाउने थिए । हाम्रो राजनीतिक दलहरुले सत्ताको गठजोडमा बनाएका समिकरणहरु के जनतामुखी छन् ? यी सवालहरु आधारभूत तहका जनताहरुमा कसरी पुर्याउने ? यो पनि गम्भीर प्रश्न हो । त्यसैले म भन्छु यथार्थ कसरी दिने वातावरण बनाउनेतर्फ सामूहिक पहल गर्ने कि यसका बाधाहरु केके हुन् कसरी पन्छाउने ? यो चुनावको बेला गम्भीररुपमा मनन गरौँ ।

-विषयबस्तु सुहाउँदो तस्बीर भएकाले माथिको तस्बीर हामीले नेपालीटाइम्सबाट साभार गरेका हौँ। सम्पादक-

प्रतिक्रिया
सम्बन्धित समाचार