विराटनगर : नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको आर्थिक पाश्र्वचित्र निर्माण गर्ने तयारी गरेको छ । महासंघले तीन महिनाभित्र पाश्र्वचित्र निर्माण गरिसक्ने योजना अनुसार अध्ययन सहायकहरुसँग बुधबार विराटनगरमा अनुशिक्षण गरेको हो ।
आर्थिक क्षेत्र अन्तरगतका कृषि, उद्योग र सेवा क्षेत्रका सम्पूर्ण जानकारी समेटेर पाश्र्वचित्र तयार पर्ने महासंघले जनाएको छ । प्रविधिको प्रयोग गरेर प्रदेश १ का १४ वटै जिल्लाका उद्योग बाणिज्य संघमार्फत जिल्लाको आर्थिक क्षेत्रसँग सम्बन्धि सम्पूर्ण विवरण आगामी पुस महिनाभित्र संकलन गर्नेे र बाँकी समयभित्र प्रकाशनको तयारीको काम गर्ने बताइएको छ ।
अध्ययन सहायकहरुको अनुशिक्षण कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले औधोगिक क्षेत्रलाई आवश्यक पर्ने सहि तथ्यांक नभएकै कारण मुलुकको आर्थिक विकास हुन नसकेको बताए । उनले आर्थिक क्षेत्रलाई गतिशिल बनाउन सहि तथ्यांक आवश्यक रहेकोले महासंघले पाश्र्वचित्र निर्माणको काम अघि बढाएको जानकारी दिए । पाश्र्वचित्र बनेपछि स्थानीय र बाह्य क्षेत्रका लगानीकर्ताहरुलाई प्रदेश १ मा नयाँ लगानी भित्र्याउन र लगानी थप्न सजिलो हुने उनको भनाइ छ ।
महासंघका प्रदेश १ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले आर्थिक क्षेत्रको सहि तथ्यांक नभएकै कारण आर्थिक विकासको काम अघि बढ्न नसकेको बताए । प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका राउतले महासंघको पहल र समन्वयमा विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेर उत्कृष्ट आर्थिक पाश्र्वचित्र तयार गर्ने योजना अघि बढाएको बताए ।
निजी क्षेत्रले आफ्नै पहलमा पहिलो पटक बनाउन लागेको आर्थिक पाश्र्वचित्रले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने अर्थविज्ञ डा.अर्जुन बरालले बताए । बरालले पाश्र्वचित्रका माध्यमबाट कृषि क्षेत्रका सम्भावनाको पहिचान गर्ने, उत्पादन उद्योगको प्रवद्र्धन गर्ने र सेवा क्षेत्र अन्तरगत पर्यटन विकासको सम्भावना पहिल्याउने काममा सहयोग पुग्ने बताए । पाश्र्वचित्रले सवैभन्दा बढि फाइदा नीति निर्माण तहमा पुग्ने डा.बरालको भनाइ छ ।
मुलुकलाई समृद्ध बनाउने भन्ने नारा विभिन्न राजनीतिक दलहरुले भन्दै आएकोमा त्यसका लागि आवश्यक आधारभूत जानकारी र तथ्यांक नभएको अवस्थामा महासंघसँगको समन्वयमा कम्यूनिटी इन्गेजमेन्टस् एण्ड आउटरिच प्रालिको प्राविधिक सहयोगमा पाश्र्वचित्र निर्माणको काम अघि बढेको हो ।
विज्ञ केछर आचार्यले अध्ययन एवं तथ्यांक संकलनका आधारभूत तरिका, अध्ययनको उपयोगीता र माध्यमहरुबारे अध्ययन सहायकहरुलाई गराएका थिए । त्यस्तै डिजिटल माध्यमबाट तथ्यांक संकलन गर्ने तौरतरिकाबारे प्रविधिविज्ञ अविन प्रजापतिले सहजीकरण गरे ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का कार्यकारिणी सदस्य एंव होटल एशोसिएसन प्रदेश नं. १ का अध्यक्ष राजन श्रेष्ठले पाश्र्वचित्र निर्माण भएपछि प्रदेश नं. १ को पर्यटन क्षेत्रको प्रवद्र्धन हुने कुरामा आफु विश्वस्त भएको बताए ।
प्रदेश १ को अर्थतन्त्रको अवस्था, आर्थिक गतिविधि, उत्पादन र रोजगारीको वर्तमान अवस्था झल्काउने तथ्यांक तथा विवरण, कृषि उद्योग र सेवा क्षेत्रले गरिरहेको आय, रोजगारी एवं ती क्षेत्रमा भएको लगानी र प्रतिफल झल्काउने विवरणहरु, आर्थिक क्षेत्र र उपक्षेत्रका सवल तथा कमजोर पक्षको पहिचान गर्न आवश्यक पर्ने तथ्यांक तथा जानकारीहरुको सँगालोका रुपमा पाश्र्वचित्र तयार हुने नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले जानकारी दिए ।
उक्त अनुशिक्षण कार्यक्रममा प्रदेश नं. १ मा रहेको जिल्ला/नगर उद्योग वाणिज्य संघका कार्यकारी सचिव लगायत २० जनाको सहभागिता रहेको थियो ।