मतदातामाझ आफ्नो कुरा राख्दै प्रतिनिधिसभा उम्मेदवार पोखरेल / तस्बीर : पूर्वेलीप्रेस
विराटनगर : मोरङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार ऋषिकेश पोखरेल यतिबेला चुनावी अभियान अन्तरगत मतदता भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त छन् ।
आफ्नो निर्वाचन क्षेत्रका गाँउ टोलमा पुगेर पोखरेलले मतदातासँग भोट माग्नुका साथै उनीहरुबाट सुझाव संकलन गरिरहेका छन् । आफू स्थानीय किसानको छोरो भएकाले मोरङ क्षेत्र नम्बर-२ को वास्तविक समस्या आफूले नजिकबाट हेरेको र त्यसको समाधानका गर्न लागि पर्ने उनले बताएका छन् । उनले आफू जनताको उम्मेदवार भएको बताए ।
देश विकास र समृद्धिका लागि एमालेको जित आवश्यक रहेको पोखरेलको भनाइ छ । युवालाई उत्पादनमा जोड्नुपर्ने बताउँदै उनले कृषिमा आधुनिकीकरण गर्न जोड दिने बताए ।
मतदाताले कुन उम्मेदवारले आफ्नो क्षेत्रमा के काम गरिरहेको छ ? भन्ने विषयको लेखाजोखा गरी आफ्नो मतको सही सदुपयोग गर्न उनले सुझाव दिएका छन् । ‘मतदाताले कम्तिमा उम्मेदवारले के कति काम गरेको छ भन्ने विषयमा जानकार हुनुपर्छ,’ पोखरेलले भने, ‘आफ्नो गाँउ समाजको समस्याका बारेमा जानकार उम्मेदवारलाई भोट हाल्लुहोस् र मतको सही सदुपयोग गर्नुहास् ।’

मतदाताको कुरा सुन्दै पोखरेल / तस्बीर : पूर्वेलीप्रेस
समयमै मल पाइदैँन भन्ने किसानको गुनासो सम्बोधन गर्ने क्रममा आफ्नो प्रतिस्पर्धिप्रति कटाक्ष गर्दै पोखरेलले आफ्नो प्रतिस्पर्धिलाई मलको आवश्यक कुन समयमा पर्छ भन्ने कुराको विषयमा ज्ञान नहुँदा समस्या भएको बताए । ‘देशले अहिले मल पूरा गर्न सक्ने अवस्था छैन्, तर भारतसँग सीमा जोडिएको हाम्रो क्षेत्रका किसानहरुले छिमेकी मूलुकबाट साइकलमा मल ल्याउँदा प्रहरीको कुटाइ खानु पर्ने अवस्था छ,’ उनले भने, ‘यहाँका संसदले उता (भारत) का दुई र नेपालका दुई पालिकाका प्रमुख र सुरक्षा निकायका प्रमुखहरु राखेर सहजीकरण गरिदिने मात्र हो भने कमसेकम हाम्रो क्षेत्रमा चाहीँ मलको दुख हुँदैन् ।’
‘हाम्रो क्षेत्रबाट निर्वाचित भएका संसदको यति पनि वुद्धि छैन्, किनकी उहाँहरुलाई कुन समयमा, कति बेला मलको आवश्यक पर्छ भन्ने पनि थाहा छैन्,’ पोखरेलले भने ।
रतुवा र बक्राह खोलाको बाढीबाट वर्षेनी आफ्नो क्षेत्रका जनताले सास्ती भोग्दै आएकाले त्यसको समाधान गर्न रतुवा र बक्राह खोलाको छेउबाट स्तरीय सडक निर्माण गर्ने पोखरेलले बताए । पोखरेल संविधानसभा सदस्य हुँदा उनको पहलमा रतुवा खोलाको किनारबाट मदन भण्डारी र बक्राह खोलाको किनारबाट जिपी राजमार्ग निर्माण भइरहेको छ ।
पोखरेलले ३० वर्षसम्म कांग्रेसका नेताले नेतृत्व गर्दा पनि विकास नभएको बताउँदै समाज बदल्न कुनै एक दिन आएका पाहुनाबाट सम्भव नहुने भएकाले आफ्नो जित आवश्यक रहेको बताए । यो क्षेत्रमा पोखरेलसँग गिरिजाप्रसाद कोइराला पुत्री सुजता कोइराला प्रतिस्पर्धामा छिन् ।