लामो समयदेखि एमालेको राजनीतिमा लाटगेका योगेन्द्र मण्डल ‘जोगी’ प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा छन् । मोरङ क्षेत्र नम्बर ५ मा एमालेबाट टिकट पाउने आश्वासन पाएपछि पार्टीबाटै उम्मेदवार बन्ने तयारीमा रहेका मण्डलले अन्तिम समयमा टिकट पाएनन् ।
एमालेले जसपासँग चुनावी तालमेल गरेपछि यो क्षेत्र एमालेले जनता समाजवादी पार्टी (जसपा) लाई छाडेको छ । त्यसो त मण्डलको चर्चा राजनीतिभन्दा बढी समाजसेवाका आधारमा हुने गरेको छ । उनीसँग २५ वर्षभन्दा बढी सामाजिक काम गरेको अनुभव छ । उनी जीवन विकास समाजका संस्थापक अध्यक्षसमेत हुन् ।
बेरोजगार युवाहरुलाई लक्षित गर्दै ‘एक घर एक रोजगार’ र ‘एक गाउँ एक उद्योग’ नीति लिएर चुनावी अभियानमा होमिएका मण्डलले दलका उम्मेदवारलाई चुनौती दिदैँ छन् । मण्डल यतिबेला चुनावी अभियानमा व्यस्त छन् । पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका मण्डलसँग पूर्वेली प्रेसले गरेको कुराकानीको सम्पादित अंश :
पार्टीले अन्तिम समयमा टिकट दिएन, पार्टीले तपाईलाई नपत्याएको हो ?
मलाई पार्टीले टिकट नदिएको हो जस्तो लाग्दैन् । कुनै व्यक्तिका कारणले टिकट नपाएको हो । पार्टीले तल्लोस्तरका कार्यकर्ताको भावनाविपरित तालमेल गरेको छ । जुन कुरा मतदाताले स्वीकार गर्न सक्दैनन् । दलहरुले जनताको विषयलाई प्राथामिकता दिनुपर्ने बाटोबाट अलग भएको अवस्था छ ।
तपाईको उम्मेदवारी किन ?
५ नम्बर क्षेत्र अरुभन्दा पछाडि परेको क्षेत्र हो । यहाँका अधिकांश मानिसहरु कृषि पेशामा आश्रित छन् । हामीले पनि एउटा मतदाताका रुपमा भोट दिँदा हामीले जहिल्यै कामना गने गथ्र्यौ कि यो उम्मेदवारले हाम्रो लागि काम गर्छ, परिवर्तन गर्छ, विकास गर्छ भन्ने कुरा कुर्दाकुर्दा पनि त्यो कुरा पाएनौँ । विगत दुई वर्षदेखि यो क्षेत्रको परिवर्तनका लागि आम मानिसले मलाई घचघचाई राखेपछि मैले स्वतन्त्ररुपमा उम्मेदवारी दिए ।
साथीभाई सबैको आग्रहमा तपाई पनि उठ्नुपर्छ भनेर झकझकाइ रहने गरेपछि स्वतन्त्र उम्मेदवारी दिएको छु । म आवद्ध पार्टीले कुनै दलसँग तालमेलल गरेपछि आम कार्यकर्ताको भावना विपरित भएको छ । त्यो हामीलाई स्वीकार्य भएन ।

स्वतन्त्र उम्मेदवारी नै किन ?
देशभर यतिबेला स्वतन्त्र उम्मेदवारको माहोल छ । लहर चलेको हामीले देखिरहेका छौँ । पार्टीका जनप्रतिनिधिभन्दा स्वतन्त्रहरुले अघि बढी काम गरेको पनि देखियो । जस्तै धरान र काठमाडौका प्रमुखहरुले गरेको काम सम्मानजनक छ । उनीहरुले राम्रो काम गरिरहेका छन् । धरानमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएको केही समयमै खानेपानी आएको छ । योभन्दा अगाडी विभिन्न दलका प्रतिनिधि हुँदा यो काम सम्भव भएको थिएन् ।
आम नागरिकलाई यतिबेला यस्तै काम गर्ने प्रतिनिधिको खाँचो छ । जनताका लागि काम गर्ने नेताको आवश्यक रहेको छ । विकासको लागि पार्टी भन्दा पनि जनताको प्रतिनिधिको खाँचो छ भन्ने कुरा मैले महशुस गरेको छु । त्यसैले मेरो उम्मेदवारी चाहीँ जनताको लागि हो ।
तपाईको मुख्य एजेण्डा के हो ?
२५ वर्षदेखि मैले यही ठाउँमा समाजसेवा गरिरहेको छु । यहाँका जनतासँग निरन्तर घुलमिल भइरहेको छु । यो अवधिमा हामीले एउटा प्रष्ट भिजन तयार पारेका छौँ । यो क्षेत्रको आवश्यकता, समस्या मैले बुझेको छु । हामीले ‘रिबीरहित नेपाल’ को परिकल्पना गरेका छौ । यो राजनीतिसँग पनि जोडिएको छ । नेपालको नीतिसँग जोडिएको छ । हाम्रो ५ नम्बर क्षेत्रलाई दृष्टिगत गर्दा खेरी अरु क्षेत्रभन्दा फरक समस्याहरु छन् । आवश्यकहरु छन् ।
भोली यहाँका जनताले मलाई जिताएर पठाउँदै गर्दा नगरी नहुने कामहरु धेरै छन् । त्यसलाई हामीले वर्गिकरण गरेका छौ । तीमध्ये हाम्रो क्षेत्रमा बेरोजगारीको समस्या धेरै छ । त्यसलाई हल गर्न अथवा बेरोजगार युवाहरुलाई लक्षित गर्दै ‘एक घर एक रोजगारी’ र ‘एक गाउँ एक उद्योग’ को नीति हामीले निर्माण गरेका छौँ ।
हाम्रो क्षेत्र कृषिमा आश्रित छ । त्यसैले कृषिलाई पनि प्राथमिकतामा राखेका छौँ । हामीसँग प्रशस्त जग्गाहरु छन् त्यसलाई सदुपयोग गरेर हामीले आम्दानीको स्रोत बढाउन सक्छौ । स्वास्थ्य, शिक्षा र घर नभएकाहरुलाई घर बनाउने हाम्रो एजेण्डा छ । सुकुम्बासी सम्सया हल गर्न हामी लागि पर्ने छौँ ।
तपाईले चुनाव जित्ने आधार के हो ?
पहिलो कुरा त म यही क्षेत्रमा बसि हुर्कि गरेको मान्छे हो । यहाँका सबै नागरिकसँग म परिचत छु । हरेक सुखःदुखमा साथ दिँदै आएको पनि छु । २५ वर्षदेखि अनवरतरुपमा यही क्षेत्रमा समावसेवा गरिरहेको छु । म यो क्षेत्रमा भएका समस्या पूर्ति गर्न लागिरहेको छु ।
अहिलेसम्म यो क्षेत्रबाट कति जनाले चुनाव जितेर गए । कति नेता आए । तर, कति जनालाई रोजगारी प्रदान गरे भन्ने कुराको उहाँहरुसँग उत्तर नै छैन् ? यसको जवाफ दिन उहाँहरु सक्नुहुन्न । तर, म के ग्यारेन्टी गर्छु भने मैले प्रत्यक्षरुपमा दुई हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छु । म रोजगारी सिर्जना गर्न सक्छु । कृषिको विकास हुनुपर्छ भन्ने भनाइ हो । यहाँका अधिकांश मानिसहरुको जीवन कृषिले धानेको पनि छ । कृषिलाई आधुनिकरण गर्नुपर्छ । जस्तो कि अहिले देशमा मलको हाहाकार छ । सरकारले किसानलाई समयमा मल उपलब्ध गराउन सकिरहेको अवस्था छैन् । यो कुरा हाम्रो देशका ठुलाठुला नेतहरुले सोच्नुपर्ने हो ।
मैले चाहीँ यो कुरालाई मध्यनजर गर्दै राजनीतिमा आउनुभन्दा अगाडी नै अर्गानिक मलको लागि मैले बायो मलको कारखाना सुरु गरेको छु । त्यो परिक्षण कालमा छ । स्वास्थको समस्या हल गर्न ३०० बेडको अस्पताल निर्माण गरिरहेका छौ । ५ नम्बर क्षेत्रमा मैले मेरा प्रतिस्पर्धिहरुले जस्तो गफ मात्र लगाइरहेको छैन । मैले काम गरिरहेको छु । काम गर्ने मान्छेलाई जनताले रोज्छन् भन्ने मेरो विश्वास छ । म काम गर्ने प्रतिनिधि भएकाले मेरो जित्ने आधार धेरै छन् । पदमा नपुग्दा त यति धेरै काम गरिरहेको छु, त्यहाँ पुगे भने अझ बढी सशक्त भएर जनताको काममा लाग्नेछु ।
प्रतिस्पर्धिलाई कसरी हेर्नु भएको छ ?
यसपालि जनताले राम्रो मान्छेलाई जिताउने छन् । म अरु केही भन्दिन् ।