विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले निर्वाचन निष्पक्ष बनाउँन पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
आइतबार विराटनगरमा प्रेस चौतारी नेपाल मोरङले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा ढकालले संविधान र लोकतन्त्र संस्थागत गर्न निष्पक्ष निर्वाचन हुनुपर्ने र त्यसको लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । उनले हिन्दुहरुको महान पर्व तिहारसगैं पाँच वर्षमा आउँने राजनीतिको महान पर्व चुनाव नजिकिएकाले निष्पक्ष निर्वाचनमा लाग्न शुभकामना दिए । पत्रकारहरुले लेख्ने तटष्थ समाचार र विरचरले नै जनताले सहि नेतृत्व चयन गर्न सक्ने भन्दै उनले पत्रकारहरुलाई तथ्यमा आधारित भएर समाचार लेख्न आग्रह गरे । उनले चुनावमा हुने गतिविधि र आचारसंहितको पालना पनि निर्वाचनको मूल खम्बा भएकाले त्यसतर्फ ध्यान दिन ढकालको आग्रह थियो ।
कार्यक्रममा मोरङ क्षेत्र नं ४ (१) बाट प्रदेशसभा सदस्यका लागि एमालेका उम्मेदवार जयप्रकाश चौधरीले निर्वाचनको समयमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले जनताको सुसुचित हुन पाउँने अधिकारका लागि पत्रकारले तटष्थ भएर समाचार बनाउनु पर्ने बताए ।
कार्यक्रमा एमालेका प्रदेश कमिटि सदस्य तथा प्याव्सनका पूर्व अध्यक्ष टीकाराम पुरीले समाचार हेर्दा कुन पार्टीमा आस्था राख्ने पत्रकारले समाचार लेखेको हो थाहा नहुनेगरी समाचार लेख्न आग्रह गरे । निर्वाचनको समयमा पत्रकारहरु आफ्नो आस्था राख्ने दलको पक्षमा समाचार लेख्ने गरेको भन्दै पुरीले दलको गन्ध नआउने गरी समाचार लेख्नका लागि पत्रकारहरुलाई शुभकामना दिए ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, समाजवादी प्रेस संगठनका प्रदेश संयोजक तथा मुख्यमन्त्री राजेन्द्र राईका प्रेस सल्लाहकार बन्धु पोखरेल, प्रेस सेन्टरका मोरङ अध्यक्ष अर्जुन आचार्य, निजामती कर्मचारी संगठन मोरङका अध्यक्ष ओम सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जनसांस्कृतिक महासंघ मोरङका कलाकारले गीत गाएर सहभागी र अतिथीलाई मनोरञ्जन दिएका थिए । प्रेस चौतारी मोरङले हरेक वर्ष दीपावलीका अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गर्दै आएको चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाले बताए ।