Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नीति निर्माणसँगै क्षेत्रको विकासमा ध्यान दिन ढकाललाई ग्रामथानका मतदाताको सुझाव



विराटनगर : मोरङको क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने ग्रामथानका जनताले घर दैलो अभियानका क्रममा सुझाव लिँदै पुग्नुभएका प्रतिनिधिसभा सदस्य विनोद ढकाललाई क्षेत्रको विकासमा ध्यान दिन सुझाव दिएका छन् ।

यसअघिका नेताहरुले चुनावका बेला ठूला– ठूला कुरा गर्ने तर अपेक्षाकृत काम नगर्ने गरेको भन्दै स्थानीयहरुले पहिलो पटक क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका ढकालसँग त्यस्तो हुदैन भन्ने वचन दिन आग्रह गरे ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेताहरुले आफ्नो काम नीति निर्माण गर्ने हो भन्ने प्रतिकृया दिने गरेको प्रति संकेत गर्दै स्थानीयले क्षेत्रको चौतर्फी विकासका लागि ढकालले बजेट ल्याउन सक्ने विश्वास रहेको बताए । उनीहरुले यहाँ गरिबी, बेरोजगारी, तथा पछाडी पारिएका समुदायका समेत मानिसहरुको ठूलो उपस्थिती रहेकोले त्यस्ता जनताको जीवनस्तर उकास्न निर्वाचित जनप्रतिनिधिको ध्यान जान आवश्यक रहेको स्थानीय युवा मनोज चौधरीको भनाइछ ।

यस्तै स्थानीय भगवती मुसहरले यस क्षेत्रमा पछाडी पारिएका समुदायहरुको ठूलो संख्या रहेको अझ त्यस समुदायका महिलाहरुले अनेक दुःखकष्ट झेल्नु परिरहेको बताईन । उनले विपन्न, अल्पसंख्यक तथा पछाडि पारिएका समुदायका महिलाहरूको क्षमतावृद्धि गर्दै आत्मनिर्भर गर्ने किसिमको नीति तथा कार्यक्रम ल्याउन सुझाव दिईन ।

यस्तै सीता मुसहरले अल्पसंख्यक तथा लोपोन्मुख समुदायका छोरीहरूको शिक्षामा पहुँच वृद्धि गर्ने किसिमका योजनाहरु ल्याउन सुझाव दिएकी छन् ।स्थानीयको सुझाव पछि संक्षिप्त जवाफ दिँदै उम्मेदवार ढकालले आफ्नो पार्टीको घोषणापत्र र आफ्नो प्रतिवद्धतापत्रले यी तमाम विषयको सम्बोधन गर्ने भन्दै ति प्रतिवद्धता इमान्दारितापूर्वक पूरा गर्न लाग्ने बताए । उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि नै मेरा प्रमुख एजेण्डा हुन् । यस क्षेत्रका जनताको जीवनस्तर उकास्न कुरामा म गम्भिर रुपमा लाग्ने छु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार