विराटनगर : इलाम क्षेत्र नम्बर १ मा यसपटकको निर्वाचन रोचक हुने भएको छ । यो क्षेत्रमा नेकपा एमालेका दुई पूर्व सहकर्मीको भिडन्त हुँदैछ । तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता एंव हाल नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल र उनका पूर्व सहकर्मी महेश बस्नेत चुनावी मैदानमा छन् ।
यसअघिका चुनावमा खनाललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका बस्नेतबीचको भिडन्त रोचक बन्ने अनुमान गरिएको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट विजयी भएका खनाल ०७७ पुस ५ का केपी शर्मा ओलीले संसद विघटन गरेसँगै खनाल एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादीमा छन् ।
२०७४ को निर्वाचनमा सँगै भोट माग्दै हिँडेका नेता नै यसपटक खनालको प्रतिस्पर्धि छन् । खनालकै स्कुलिङमा हुर्किएका बस्नेत चुनाव जित्न जोडबलका साथ लागि परेका छन् । बस्नेत नेकपा एमालेका इलाम जिल्ला अध्यक्षसकेत छन् ।
२०७४ को निर्वाचनमा खनाल एमाले माओवादीको बाम गठबन्धनबाट उम्मेदवार थिए । उनले आफ्नो प्रतिद्वन्दीलाई फराकिलो मतान्तरले चुनाव हराए । खनाल ३६ हजार ८०५ मत ल्याएर विजयी बने । उनीसँग कांग्रेसका भ्रपेन्द्र कट्टेल १९ हजार ६३८ मत ल्याएर पराजित बने । तर, यसपटक समिकरण फेरिएको छ । कांग्रेस र माओवादीको साथ पाएका खनालको साथमा लामो समयदेखि चुनाव लड्दै आएको पार्टी र चुनाव चिह्न साथमा छैन । पार्टी र चुनाव चिह्न नयाँ भएका खनाललाई चुनाव जित्न सकस पर्ने देखिन्छ ।
२०४८ सालयता भएका ६ निर्वाचनमा निरन्तर मैदानमा उत्रिएका खनाल ५ वटा निर्वाचनमा विजयी भएका छन् । खनाल २०५६ सालको निर्वाचनमा भने पराजित भएका थिए ।
नेकपा एमाले र चुनाव चिन्श सूर्यबाट ५ पटक निर्वाचन जितेका खनालविरुद्ध त्यही सूर्य चिन्हका उम्मेदवारसँगको प्रतिस्पर्धा निश्चित रोचक बन्ने छ । संसदीय चुनावमा पहिलो पटक उम्मेदवार बनेपनि बस्नेतसँग लामो चुनावी अनुभव छ । बस्नेतसँग दुई कार्यकाल इलाम नगरपालिकाको मेयर भएर काम गरेको अनुभव छ । जिल्लामा बस्नेतको उपस्तिथि बलियो रहेको एमाले कार्यकर्ताहरु बतउँछन् ।