उदयपुर २ (ख) बाट उम्मेदवारी दर्ता गरेका दाहाल
विराटनगर : ३० वर्षीय युवा जिवनाथ दाहालले नेकपा एमालेबाट उदयपुर क्षेत्र नम्बर २ को प्रदेश (ख) बाट उम्मेदवारी दर्ता गरेका छन् । लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका दाहाललाई पार्टीले टिकट दिएपछि नयाँ पुस्ताको अनुहार संसदीय राजीनितमा उदय भएको चर्चा सुरु भएको छ ।
२०४९ सालमा तत्कालीन मयंखु गाविसमा जन्मिएका दाहाल हाल कटारी नगरपालिका वडा नम्बर ४ मा बसोबास गर्छन् ।
२०६४ सालबाट अनेरास्ववियुमा संगठित भएका दाहाल त्यसयता निरन्तर सक्रिय राजनीतिमा छन् । २०६४ मा अनेरास्वविवियुको प्रारम्भिक कमिटीबाट राजनीतिमा लागेका उनी अनेरास्ववियुको क्षेत्रीय कमिटी अध्यक्ष, जिल्लाको उपाध्यक्षहुँदै केन्द्रिय सदस्यसम्म भए ।
राजनीतिसँगसँगै पत्रकारितामा पनि पोख्त छन्, दाहाल । संचार क्षेत्रलाई पेशागत रुपमा अघि बढाउनुपर्ने विचार राख्ने दाहालसँग लामो समयदेखि पत्रकारिताको अनुभव पनि छ । युके एफ एम १०६.८ मेगाहर्ज, कान्तिपुर टेलिभिजन, नयाँ पत्रिका दैनिक, उदयश्रीमिडिया प्रालिमा काम गरेको अनुभव बटुलिसकेका उनी हाल एमाले निकट प्रेस चौतारीको उदयपुर जिल्ला अध्यक्ष छन् ।
राजनीति र पत्रकारितासँगै दाहालको सामाजिक कार्यमा पनि उत्तिकै संलग्नता रहँदै आएको छ । राजनीतिलाई पेशा नभई समावसेवा बनाउनुपर्छ भन्ने धारणा राख्ने दाहाल समाजसेवामा पनि निकै सक्रिय छन् ।
गाँउ समाजमा भएका विकृति विसंगतिका विरुद्ध आवाज उठाउन नडराउने दाहालले गरिब, असहाय समुदायलाई नियमित आर्थिक सहयोगसमेत गर्दै आएका छन् । ‘समाजमा परेका अप्ठ्यारामा सकेको सहयोग र जनताको दुखःसुखमा साथ दिदै आएको छु,’ दाहाल भन्छन्, ‘अब चुनाव जितेर अझ बढी शसक्त भएर आफ्नो क्षेत्रको विकासमा लागिपर्ने अठोटले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको हो ।’
विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको समयमा होस् या बाढी पहिलोले निम्त्याएको विपद्मा परेकालाई सहयोग गर्दै आएका दाहालले निडर र समाजसेवी युवा नेताका रुपमा छवी बनाएका छन् । बेरोजगार भएका युवाहरुलाई रोजगारी दिने, पार्टी संगठन विस्तारमा अग्रसर हुने, सिप विकास गर्ने तालिमहरु सञ्चालन गर्नेदेखि शैक्षिक क्षेत्रमा समेत दाहालको योगदान रहेको छ ।
आफ्नो निर्वाचन क्षेत्रका हरेक स्थानबारे जानकार र जनताको काम गर्दै आएका दाहालको उम्मेदवारीलाई अर्थपूर्णरुपले हेरिएको छ । पार्टीमा संकट आएको बेला विचलित नभई पार्टी विस्तारमा लागेका दाहाललाई क्षेत्रमा भएका समस्या बारे जानकार भएका कारण पनि पार्टीले टिकट दिएको एमाले नेताहरु बताउँछन् ।
‘उदयपुर २ (ख) का हरेक क्षेत्रहरुमा विभिन्न प्रकारका समस्याहरु छन्, ती समस्याहरुको मैले राम्रोसँग अध्ययन गरेको छु,’ उनले भने, ‘समस्या समाधान र विकासका योजनाहरु लिएर चुनावमा जान्छु, यसपटक मलाई मतदाताहरुले उहाँहरुकै सेवा गर्नका लागि भोट दिनुहुनेछ भन्नेमा ढुक्क छु ।’