विराटनगर : सत्ता गठबन्धनबाट उदयपुर क्षेत्र नम्बर २ नेकपा एकीकृत समाजवादीको भागमा परेपछि आइतबार जगनाथ खतिवडाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
२०७४ को निर्वाचनमा माओवादीले जितेको यो क्षेत्र माओवादीले दावी गर्दै आएको थियो । तर, आफूलाई संकटमा साथ दिएका कारण माधव नेपालले खतिवडालाई टिकट दिलाए । अघिल्लो निर्वाचनमा माओवादीका सुरेश राई यो क्षेत्रबाट निर्वाचित भएका थिए ।
खतिवडाविरुद्ध नेपाली कांग्रेसका क्षेत्रीय सभापति राम कुमार राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । लामो समयदेखि पार्टीमा लाग्दा पनि कामको उचित मूल्यांकन हुन नसक्दा आफूले स्वतन्त्र उम्मेदवारी दिएको राईले बताएका छन् ।
२०५४ को निर्वाचनमा उनी कांग्रेसबाट कटारी गाविसको अध्यक्षमा निर्वार्चित भएका थिए । २०७४ को निर्वाचनमा कटारी नगरपालिकाको मेयरमा पार्टीले टिकट नदिएपछि राई तत्कालीन नेकपामा प्रवेश गरेका थिए ।
लामो समयदेखि कांग्रेसको राजनीतिमा लागेका राई कांग्रेस क्षेत्र नम्बर २ का बहालवाला क्षेत्रीय सभापति, पूर्व जिल्ला सचिब, महाधिवेशन प्रतिनिधि, महासमितिसमेत सदस्य हुन् ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (ख) मा गठबन्धनका रामकुमार खत्रीले टिकट पाएपछि उनको विरुद्धमा नेकपा माओवादीका हेम दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
कटारी नगर कमिटीको ईन्चाजसमेत रहेका दाहालले गत स्थानीय तहको चुनावमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले धोका दिएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।