विराटनगर : नेपाली कांग्रेसका नेता राजकुमार लिम्बूले नेताहरुको अन्याय सहन नसकेको भन्दै पार्टी परित्याग गरेका छन् । पार्टीमा आफूमाथि पटकपटक अन्याय भएकाले पार्टी छाडेको उनले बताएका छन् ।
लामो समयदेखि कांग्रेसको हितका लागि काम गरिरहँदा पनि पार्टीले कामको मूल्यांकन नगरेका कारण पार्टी छाड्न बाध्य भएको उनले बताए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा लिम्बू बेलबारी नगरपालिकाको मेयरको उम्मेदवार थिए । आफू उम्मेद्वार हुँदा आफ्नै पार्टीका नेताहरु खुलेआम अन्तरघात गरेर हारउन लागेको लिम्बूले पूवेर्ली प्रेसलाई सुनाए ।
‘२०७४ को निर्वाचनमा पार्टीका नेताहरुले पैसा खर्च गरेर मलाई हराउन लागे,’ उनले भने, ‘२०७९ सालमा पनि आफूले टिकट पाउँछु भन्ने थियो, पार्टीले न्याय गर्छ भन्ने थियो, तर अघिल्लो निर्वाचनमा जसले मलाई हरायो उसलाई नै पार्टीले टिकट दियो ।’
लिम्बूले मेयरको टिकट नपाएपछि मोरङ क्षेत्र नम्बर ३ को प्रदेश (ख) बाट उम्मेदवार बन्न चाहेका थिए । तर, यो क्षेत्र गठबन्धनबाट नेकपा एकीकृत समाजवादीको क्षेत्र परेपछि उनी पार्टीप्रति अझ रुष्ट बन्दै गए । ‘हामी संगठन गर्ने, पार्टी निर्माणमा लाग्ने, अनि हाम्रै मूल्यांकन पार्टीमा छैन्,’ उनले भने, ‘हाम्रो पार्टीको २०/२५ हजार मत हुँदा हुँदै २/३ हजार पनि मत नभएको समाजवादीलाई टिकट दिने र हामीले भोट हाल्नुपर्ने भए हामी किन कांग्रेसमा बस्नुपर्यो र?’
लिम्बूले पार्टी छाड्नुको मुख्य कारण पार्टीका नेता तथा मोरङ–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुनिल शर्मा भएको बताए । ‘क्षेत्र नम्बर ३ का नेताको हामी दास भएर बस्नु पर्ने भयो,’ लिम्बूले भने, ‘नेताको झोले बन्न सकिन अनि पार्टी छाडे, अब स्वतन्त्र भएर बस्छु ।’
लिम्बू कांग्रेसभित्र कोइराला समूहका नेता हुन् । कांग्रेसका ईमान्दार र कर्तव्यनिष्ठ नेताको छबि बनाएका उनी मोरङ क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि समेत रहेका थिए ।